देशैभर डढेलो, विषाक्त बन्दै हावा




गर्मी बढेसँगै डढेलोका घटना बढेका छन्। पछिल्लो एक सातामा दुई सय ५५ ठाउँका वन डढेलो लागेको वन तथा भूसंरक्षण विभागले जनाएको छ।

विभागकाअनुसार पछिल्लो एक सातामा २३ जिल्लामा डढेलोका घटना भएका छन्।




विभागले अद्यावधिक गरेको विवरणअनुसार अछामका ६, अर्घाखाँचीका ३, बागलुङका ३, बैतडी, बाजुरा, डोल्पा, गोरखाका १–१, बाँकेका ९ स्थानमा डढेलोका घटना भएका छन्।

बाराका १८, बर्दियामा ४, चितवनमा ४२, डडेलधुरामा ३, दैलेखमा ४, दाङमा १९ स्थानमा डढेलो सल्किएको छ।

दोलखामा ३, डोटीमा १४, गुल्मीमा ३, जाजरकोटमा ६, काभ्रेपलाञ्चोकमा ३, कैलालीमा ९, कञ्चनपुरमा ६ र कपिलवस्तुमा ९ ठाउँमा डढेलो फैलिएको छ।

एक महिनाअघिसम्म मध्य तथा उच्च पहाडमा सल्किएको डढेलोको प्रकोप अहिले तराई–मधेस क्षेत्रमा देखिएको छ। यसबाट काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरहरू प्रदूषित बनेको छ।

देशभर फैलिएको डढेलोका कारण वायु प्रदूषित भएको वातावरण विभागका प्रवक्ता तारादत्त भट्टले जानकारी दिए।

‘हाम्रो देरभर वायुको स्वच्छता मापन गर्ने संयन्त्र छैन। जहाँजहाँ छ, त्यसआधारमा भन्दा देशभरकै वायु अस्वस्थ देखिएको छ। खास गरी चितवन, सिमरा र काठमाडौंको वायु प्रदूषित देखिएको छ,’ उनले भने।

वायु शुद्धता सूचकांक (एक्युआइ) का अनुसार अहिले ललितपुरस्थित खुमलटारको हावा प्रदूषित देखिएको छ। खुमलटारको एक्युआइ सूचकांक १९०.४६ रहेको छ। एक्युआइअनुसार एक सय एकभन्दा माथिको अंक हानिकारक हो।

सूचकांकअनुसार भक्तपुरको प्रदूषणको अवस्था १७०.७७ छ। शंखपार्कको १६१.०६, कीर्तिपुरको प्रदूषणको अवस्था १५७.५२ रहेको छ।

पोखराको वायु पनि प्रदूषित देखिएको छ। यहाँको वायुको अवस्था १५१.२० छ।

ललितपुर पुलचोकको १३२.५२, भैंसेपाटीको १२९.८१, मुगुस्थित रारा ताल क्षेत्रको १२५.८७, महेन्द्रनगरको ११७.७४, धनकुटाको ९८.७७ र नेपालगञ्जको वायुको अवस्था ९२.३७ रहेको छ।



सम्बन्धित
Loading...