नवलपुरमा जंगलका आगो गाउँमा सल्कियो, ४ घर जलेर नष्ट पुरै गाउँ ध्वस्त हुने खतरा




रामकुमार श्रेष्ठ –

नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु १४ चनौटामा जंगलमा लागेको आगो गाउँमा सल्कँदा ४ घर जलेर नष्ट भएको छ । ९ घर रहेको उक्त गाउँमा सबै घरमा आगो लाग्ने खतरा बढेको स्थानीयले बताएका छन् ।




अहिलेसम्म ४ घर जलेर पूर्ण क्षति भएको छ । आगलागीबाट नवलसिं ढेगा, भागीराम ढेंगा, टेकबहादुर क्षेत्री, कर्मासिंह सोमैको घर जलेर नष्ट भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक नरहरि रेग्मीका अनुसार अप्ठेरो बाटो, विकट गाउँ र दमकल समेत पुग्न नसक्ने गाउँ भएकोले तत्काल आगो नियन्त्रणमा समस्या देखिएको छ ।

घटना स्थलतर्फ नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, नगर प्रहरी लगायतको टोली गइसकेको भए पनि अझै सुरक्षाकर्मीहरुको टोली घटना स्थल पुग्न सकेको छैन । घटना स्थल अरुणखोला बजारबाट १५ किलोमिटर उत्तरमा पर्दछ ।

उक्त गाउँमा पानीको समेत समस्या भएको र दमकल समेत पुग्न सक्ने स्थिति नभएकोले क्षति अझै बढ्न सक्ने अनुमान गरिएको छ । आगलागी भएको जंगल नजिकै ८÷१० घर रहेको अर्को गाउँ पनि रहेकोले थप खतरा बढेको प्रहरी उपरीक्षक रेग्मीले बताए ।

मानवीय र चौपाया क्षति नभए पनि घरहरु भने पूर्ण रुपमा क्षति भएको छ । आगलागी भइरहेको कारण क्षतिको विवरण आउन सकेको छैन । नजिकका अन्य गाउँका बासिन्दाले माटो र घाँसका स्याउला प्रयोग गरेर अहिले आगो निभाउने प्रयास गरिरहेका छन् ।

त्यसैगरी आज नै मध्यविन्दु नगरपालिका ४ मदनपुर गोठाटोलामा खरबारीमा आगलागी भएको छ ।

उक्त आगो स्थानीय र प्रहरीले नियन्त्रणमा लिएका छन् ।



सम्बन्धित
Loading...