जंगलमा लागेको निभाउने क्रममा एक जनाको मृत्यु दुई घाईते




बागलुङ वैशाख १५ —
बागलुङको तमानखोलामा वनमा लागेको डडेलो निभाउने क्रममा एकजनाको मृत्यु भएको छ । घटनामा दुईजना घाइते भएका छन् ।

शुक्रबार दिउँसो आगो निभाउन गएका तमानखोला गाउँपालिका-३ को सिलगुम गाउँका ४८ वर्षीय देवसिंह कामीको मृत्यु भएको हो ।




उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिए । सोही क्रममा ३१ वर्षीय ज्ञानबहादुर बुढामगर र ३३ वर्षीय प्रेमबहादुर घर्तीमगर घाइते भएका छन् । घटनास्थल सदरमुकामदेखि १ सय २० किमी पश्चिममा पर्छ ।

घाइतेको अनुहार, हातखुट्टामा समेत आगोले पोलेको स्थानीयले बताए । दुवै जनाको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङमा उपचार भइरहेको छ । जंगलको आगो गाउँका घरगोठमा पनि सल्केको थियो ।

आगोले तमानखोला-२ का रामबहादुर कार्कीको जस्ताले छाएको घर, सूर्यबहादुर सिर्पालीको गोठ जलेर पशुचौपाया समेत क्षति भएको छ । प्रहरीले पशुचौपायाको क्षतिबारे तथ्यांक संकलन गरिरहेको बताएको छ ।

आगोले यहाँका दर्जनौ जंगल नष्ट भएका छन् । यादवले जिल्लाका धेरै स्थानमा आगो लागेको सूचना आएको र सोहीअनुसार निभाउने गरी प्रहरी र स्थानीय बासिन्दा परिचालन भएको बताए ।



सम्बन्धित
Loading...