स्मार्ट कार्डबाट सेनेटरी प्याड
दिपकराज भट्ट
डडेल्धुरा । डडेल्धुरा भागेश्वर गाउँपालिकाले स्मार्ट कार्डबाट सेनीटरी प्याड निकाल्न सकिने मेशिन माध्यमिक विद्यालयमा प्रयोगमा ल्याएको छ । महिनावारी हुने छात्राहरुका लागि सहज रुपमा सेनीटरी प्याड उपलव्ध गराउनका लागि प्रविधि जडानले छात्राहरुको पढाईलाई सहज गर्ने विश्वास लिइएको छ ।
डडेल्धुरा भागेश्वर गाउँपालिकाले सरस्वती माध्यमिक विद्यालयमा स्मार्ट कार्डवाट सेनीटरी प्याड निकाल्न सकिने मेशिन प्रयोगमा ल्याएको छ । कक्षा ६ देखि १२ सम्मका किशोरी छात्राहरुको महिनावारीलाई व्यवस्थापन गर्ने लक्ष्य लिई गाउँपालिकाको वडा नम्वर ४ मा रहेको सरस्वती माध्यमिक विद्यालय बगरकोटमा सुदुरपश्चिम प्रदेशमै पहिलोपटक सेनीटरी प्याड मेशिन प्रयोगमा ल्याइएको हो ।
भागेश्वर गाउँपालिका ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना र स्वास्थ्य शाखाको संयोजनमा करिव ८८ हजार रुपैयाँमा यो मेशिन जडान गरिएको हो । यसबाट सेनटरी प्याड पाईन थालेपछि विद्यालयमा महिनावारी हुँदा विद्यालय छोडेर घर जानु पर्ने वाध्यता हटेको विद्यार्थीले बताएका छन् ।
मेसिनमा स्मार्ट कार्ड छिराएपछि सेनीटरी प्याड निकाल्न सकिन्छ । स्मार्टकाडकाट सेनीटरी प्याड निकाल्दा लाग्ने खर्च गाउँपालिकाले दिने भएको छ । स्मार्टकार्डबाट सेनटरी प्याड निकाल्ने प्रविधि जडानसंगै महिनावारी भएको समयमा पनि सहज रुपमा अध्ययन गर्न सकिने भएकाले यो प्रविधि अन्य विद्यालयमा पनि जडान गर्ने र सेनेटरी प्याड निशुल्क हुने गाउँपालिका अध्यक्ष कौशीला भट्टले बताए ।
विद्यालयमै मेसीनबाट सहजै सेनीटरी प्याड पाईने भएपछि महिनावारी हुँदा सेनीटरी प्याडकै अभावका कारण छात्राहरुको विद्यालयमा हुने अनुपस्थितिको अन्त्य हुनुका साथै सरसफाईमा सहयोग पुग्ने विस्वाश विद्यालयका प्रधानाध्यापक केशवराज पन्तले बताएका छन ।
सेनीटरी प्याड पाईने भएपछि महिनावारी हुँदा सेनीटरी प्याडकै अभावका कारण पहिले विद्यालयमा समस्या हुने अब सहज हुने भएकाले आफु सधै निरन्तर विद्यालय उपस्थित हुने हौसला मिलेकोमा विद्यार्थी सविता भट्टले गाउपालिका अध्यक्षलाई धन्वाद समेत दिएकी छन् ।