इलाम–२ को मतगणनाका लागि सर्वदलीय बैठक सुरु, बझाङमा हेलिकोप्टरद्वारा मतपेटिका ल्याइयो




इलाम । इलाम-२ को उपनिर्वाचनमा खसेको मत गणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ । बैठकले मत गणनाको समय तय गर्नेछ । बैठक मतगणनास्थल गौतमबुद्ध सभागृहमा सुरु भएको हो । शनिबार भएको मतदानमा कुल एक लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ मत खसेको मुख्य निर्वाचन अधिकृत केशव घिमिरेले बताए । जसमा महिला मतदाता ३४ हजार १५० र पुरुष मतदाता ३५ हजार १३५ रहेको उनले बताए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामले मतगणनाका लागि इलाम नगरपालिका– ७ मा रहेको गौतमबुद्ध सभागृहलाई तयारी गरिएको सहायक निर्वाचन अधिकृत इन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार मतगणनास्थललाई सुरक्षित गर्न सिसिक्यामेरा, तारजालीसहितका आवश्यक पूर्वाधार तयार गरिएको छ ।



इलाम २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा एमाले नेता सुवासचन्द्र नेम्वाङको गत २६ भदौमा हृदयाघातबाट निधन भएकाले यहाँ उपचुनाव भएको हो । यहाँको उपनिर्वाचनमा राजनीतिक दलका १२ उम्मेदवार र सात स्वतन्त्रसहित १९ जनाले चुनावी प्रतिस्पर्धामा भाग लिएका थिए । जसमा एमालेका सुहाङ नेम्वाङ, कांग्रेसका डम्बर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू, पहिचानवादीका डकेन्द्रसिंह लिम्बूबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।

बझाङमा साइपालका मतपेटिका हेलिकप्टरबाट ल्याइयाे

बझाङ । बझाङ प्रदेशसभा (१) मा भएको उप-निर्वाचनमा सडक सञ्जालसँग नजाेडिएका साइपाल गाउपालिकाका ३ वटा केन्द्रका मतपेटिका हेलिकप्टरबाट सदरमुकाम चैनपुुर ल्यायाइएकाे छ।

शनिवार खराब माैसमका कारण ल्याउन नसकिएका मतपेटिका आइतवार बिहान ल्याइएकाे हाे । साइपाल गाउपालिका वडा नं ३ काे काडा माबि मतदान केन्द्र, वडा नं ४ काे धुली मतदान केन्द्र र वडा नं ५ काे एराङकरी मतदान केन्द्रका मतपेटिका हेलिकप्टरबाट ल्याइएकाे बझाङका प्रहरी नायब उपरिक्षक भरत शाहले बताए। निर्वाचन क्षेत्र भरिका ९४ वटा मतदान केन्द्रका मतपेटिका सदरुमकाम पुगिसकेपछि मतगणनाका लागि सर्बदलिय बैठक बस्ने तयारी भइरहेकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ।

बझाङमा शनिवार सम्पन्न मतदानमा ४९.१२ प्रतिशत अर्थात ३० हजार ३ सय २८ जनाले मतदान गरेका थिए ।



सम्बन्धित
Loading...