वेस्ट इन्डिजद्वारा नेपाल सामु १६१ रनको चुनौती पेश
नेपाल विरुद्धको दोस्रो टी २० क्रिकेटमा वेस्ट इन्डिज ए ले नेपाल सामु १६१ रनको लक्ष्य पेश गरेको छ । वेस्ट इन्डिजले २० ओभरमा सात विकेटको क्षतिमा १ सय ६० रन बनाएको हो ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा वेस्ट इन्डिजको ‘ए’ टोलीले टस जिती पहिले ब्याटिङको निर्णय लिएको हो । यसअघि शनिबार खेलिएको पहिलो टी–२० क्रिकेटमा नेपालले वेस्ट इन्डिजलाई चार विकेटले हराएको थियो ।
३६ वर्षीय दायाँ हाते ब्याटर आन्द्रे डेभिड स्टेफन फ्लेचरले ३६ बलमा सर्वाधिक ४३ रन बनाएका हुन् । उनले चार चौका प्रहार गरे । प्लेचरले वेष्ट इन्डिजबाट २५ एकदिवसीय र ५४ टी–२० आई खेलिसकेका छन् ।
नवौं नम्बर क्रिजमा आएका गुडाकेश मातीले आक्रामक ब्याटिङ गर्दै आठ बलमा दुई चौका र चार छक्कासहित ३३ रन बनाएका हुन् । अन्तिम ओभरमा उनले दीपेन्द्रसिंह ऐरीलाई २२ रन हानेका हुन् ।
कप्तान रोस्टन चेजले २२ बलमा दुई चौका र एक छक्कासहित २३ रन बनाए । पहिलो खेलमा अर्धसतक बनाएका चेजलाई स्पिनर कुशल भुर्तेलले बोल्ड गरेका थिए ।
ओपनर जोनसन चार्लेसलाई ११ रन बनाएको अवस्थामा सागर ढकालले बोल्ड गरेका थिए । केयसी कार्टीले १० रन बनाउँदा कुशल भुर्तेलले कप्तान रोहित कुमार पौडेलबाट क्याच गराएका हुन् ।
किमो पउललाई ८ रन बनाएको अवस्थामा सोमपाल कामीले बोल्ड गरे । पउल आउट हुँदा वेष्ट इन्डिजले १६।१ ओभरमा पाँच विकेट गुमाएर १०४ रन बनाएको थियो । त्यसअघि सागरले आफ्नो दोस्रो बलमै ओपनर एलिक एथानाजेलाई कुशल मल्लबाट क्याच गराउँदै वेष्ट इन्डिजविरुद्ध दबाब बढाएका थिए ।
१८औं ओभरमा वेष्ट इन्डिजले दुई विकेट गुमाएको हो । हेडन वाल्सलाई ९ रन बनाउँदा कप्तान रोहितले रनआउट गराए । १७।२ मा वाल्स रन आउट हुँदा १७।५ ओभरमा फ्लेचरलाई दीपेन्द्रसिंह ऐरीले लोकस बमबाट क्याच आउट गराएका हुन् ।
बलिङतर्फ स्पिनर सागर र कुशल भुर्तेलले समान दुई विकेट लिएका हुन् । सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीको नाममा समान एक विकेट रह्यो । आकाश चन्द र मल्ल भने विकेट विहिन रहे ।
बायाँ हाते स्पिनर सागरले चार ओभरमा १९ रन खर्चिएका हुन् । पहिलो खेलमा उनी बेन्चमै थिए । चार ओभर बलिङ गरेका सागरले २३ रन खर्चिएका हुन् । २ ओभर बलिङ गरेको अर्का तिव्रगतिका बलर आकाश चन्द पनि विकेट विहिन रहे ।
दोस्रो खेलमा प्रशिक्षक मोन्टी देशाईले पाँच खेलाडी परिवर्तन गरेका छन् । लोकेस बम, सोमपाल कामी, आरिफ शेख, सागर ढकाल र आकाश चन्दले पहिलो एघारमा स्थान बनाएका छन् ।
पहिलो खेल खेलेका कमल सिंह ऐरी, अभिनाश बोहरा, विवेक यादव, ललितनारायण राजवंशी र प्रतिश जिसीलाई बाहिर राखिएको छ ।