बुटवलमा खानेपानी अभाव, झुम्सा खानेपानी आयोजना अधुरै




बुटवल । बुटवल उपमहानगरपालिकामा खानेपानीको अभाव देखिएको छ । गर्मीमा स्वाभाविक रुपमा खानेपानीको माग बढेसँगै आपूर्तिमा सकस भइरहेको हो । बुटवलमा दैनिक झण्डै साढे ३ करोड लिटर खानेपानीको माग छ । तर, आपूर्ति भने दुईदेखि अढाई करोड लिटरसम्म हुने गरेको खानेपानी संस्थान बुटवलले जनाएको छ ।

खानेपानी संस्थान बुटवलका प्रमुख मोहन दत्त भट्टले तिनाउबाट दैनिक १ करोड लिटर र बुटवलका विभिन्न २१ वटा ट्युबवेल (बोरिङ) बाट १ करोड ५० लाख लिटर खानेपानी आपूर्ति गरिएको बताए ।




खानेपानीको अभावका कारण उपभोक्ताले ट्याङ्करबाट पानी मगाउने गरेका छन् । नेपाल खानेपानी संस्थान बुटवलले माग अनुसार पानीको आपूर्ति गर्न झुम्सा खानेपानी आयोजना निर्माण थालेको तीन दशक पुग्न थालेको छ । तर अहिलेसम्म उक्त आयोजना सम्पन्न हुन सकेको छैन ।

बुटवलको वडा नम्बर ७ र ८ मा पानीको सर्वाधिक अभाव छ । बुटवल उपमहानगरकी उपमेयर सावित्रीदेवी अर्यालले खानेपानीको समस्या लिएर उपभोक्ताहरू आउने गरेको बताइन् । कम्तीमा २ घण्टा भए पनि दैनिक धारामा पानी आउने व्यवस्था मिलाउन आफूले खानेपानी प्रमुखसँग आग्रह गरेको उनले बताइन् ।

खानेपानी संस्थान बुटवलका प्रमुख भट्टले गर्मीमा माग धेरै बढ्ने बेलामा खानेपानीको स्रोत ट्युबवेल (बोरिङ) बाट पानी कम आउने गरेका कारण व्यवस्थापनमा समस्या भएको बताए ।

‘अहिले खानेपानीका ३ वटा (बोरिङ) बाट पानी आएको छैन । यस्तै बुटवल–नारायणगढ सडक निर्माणको क्रममा रामनगर क्षेत्रका खानेपानी पाइप काटिँदा पनि केही दिन समस्या भयो,’ उनले भने ।

बुटवलका लागि खानेपानीको प्रमुख स्रोत पाल्पाको तिनाउ नदी नै हो । त्यही नदीमा रहेको झुम्सा खानेपानी आयोजना तीन दशकदेखि निर्माणाधीन रहे पनि सम्पन्न हुन सकेको छैन । मुहानभन्दा तल तीन महिना अगाडि पुल भाँचिदा खानेपानी संस्थानको पाइप नै भाँचिएको थियो । त्यो पुल निर्माण गर्न बाँकी छ ।

बुटवल उपमहानगरकी उपमेयर सावित्रीदेवी अर्यालले बुटवलमा खानेपानी छिटो ल्याउन पहल गरिरहेको दाबी गरिन् ।



सम्बन्धित
Loading...