कोशीका मुख्यमन्त्री कार्की अपदस्थ, फेरि १६८ (५) अनुसार सरकार गठनको आह्वान
कोशीका प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री केदार कार्कीलाई अपदस्थ गरेका छन् । अल्पमतमा परेको ३० दिनसम्म पनि मार्गप्रशस्त नगरेको भन्दै कार्कीलाई पदमुक्त गरिएको हो । प्रदेश प्रमुख खापुङले दुई दिनभित्र नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । कांग्रेसले भने उनको निर्णयविरुद्ध अदालतमा चुनौती दिने भएको छ ।
संविधानको धारा १६८ (५) अनुसार गठित कार्की नेतृत्वको सरकारले विश्वासको मत लिनुपर्ने वा नपर्नेबारे कानुनविद्हरू विभाजित थिए । तर, प्रदेश प्रमुख खापुङले कार्कीले विश्वासको मत नलिएको भन्दै धारा १६८ (५) अनुसार नै शुक्रबारसम्म नयाँ सरकार गठनको आह्वान गरेका हुन् ।
खापुङले मुख्यमन्त्री कार्कीलाई हटाउनुका तीनवटा कारण देखाउँदै नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाएका छन् । प्रदेश प्रमुखको कार्यालयले बुधबार राति जारी गरेको सूचनामा नयाँ सरकार गठनका लागि ‘नेपालको संविधानको धारा १६८ (५) बमोजिम गठन भएको कोशी प्रदेश सरकारलाई प्रदेश सभाका बहुमत सदस्यको विश्वासको मत प्राप्त भएकोमा ०८० चैत २६ गते ५२ सदस्यले समर्थन फिर्ता लिएको निवेदन प्राप्त भएको’ पहिलो कारण देखाइएको छ ।
यसैगरी ‘कोशी प्रदेश सभा सचिवालयको २०८१ वैशाख १० गतेको पत्रमार्फत कोशी प्रदेश सभामा पेस भएको संकल्प प्रस्ताव बहुमतले पारित भएको’ दोस्रो कारण देखाइएको छ । ३० दिनभित्र विश्वासको मत लिनुपर्ने वा राजीनामा दिनुपर्ने माग गर्दै एमाले र माओवादीका सांसदले दर्ता गराएको संकल्प प्रस्ताव ७ वैशाखमा पारित भएको थियो ।
यसबाहेक प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वानका लागि तेस्रो कारणका रूपमा ‘संवैधानिक व्यवस्थाबमोजिम समर्थन फिर्ता लिएको ३० दिनभित्र प्रदेश सभाबाट मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्नेसम्बन्धी कुनै प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता हुन नआएको’ उल्लेख गरेका छन् ।
यसैअनुसार ‘माननीय प्रदेश प्रमुखले नेपालको संविधानको धारा १६८ (५) बमोजिम कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गरी प्रदेश सरकार गठनका लागि प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने कोशी प्रदेश सभाका कुनै सदस्यलाई शुक्रबारसम्म आफ्नो दाबी पेस गर्न आह्वान गर्नुभएको’ प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी रामकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यो धाराले बहुमत प्राप्त गर्न सक्ने जो–कोही मुख्यमन्त्री बन्न सक्ने व्यवस्था गरेको छ ।
प्रदेश प्रमुखको आह्वानअनुसार अब एमाले–माओवादी गठबन्धनबाट एमालेका हिक्मतकुमार कार्कीले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको दाबी पेस गर्दैै छन् । केन्द्रको निर्णयलाई प्रदेशले पालना गर्दै कार्कीलाई मुख्यमन्त्रीका रूपमा अघि सार्ने माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले बताए ।
कोशीमा गठबन्धनलाई सहजै बहुमत पुग्ने अंक–गणित छ । गठबन्धनमा आबद्ध दल एमालेसँग उपसभामुखसहित ४० र माओवादीका १३ सांसद छन् । ९२ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ सिट आवश्यक पर्छ । केन्द्रमा गठबन्धनमै रहे पनि कोशीमा कांग्रेस नेतृत्वको सरकारमै रहेको एकीकृत समाजवादीका चार सांसद छन् । त्यसैगरी, कांग्रेसका २९, सभामुखसहित राप्रपाका ६ र जसपाका एक सांसद छन् ।