हुप्सेकोट र बौदीकालीमा २० वटा विद्यालयमा विद्यालय सुधार परियोजना लागु
रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरको हुप्सेकोट गाउँपालिका र बौदीकाली गाउँपालिकाका २० वटा विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विद्यालय सुधार (सिकाई) परियोजना लागु भएको छ ।
हिजो बौदीकालीमा र आज हुप्सेकोटमा सरोकारवालाहरुका लागि परियोजना अभिमुखीकरण कार्यक्रम गरी सिकाई परियोजना लागु गरेको हो ।
राइट फर चिल्डे«न पोखरा कास्कीले हुप्सेकोट गाउँपालिका र बौदीकाली गाउँपालिकासँगको सहकार्यमा हुप्सेकोटका १२ वटा विद्यालय र बौदीकालीको ८ वटा विद्यालय गरी २० वटा विद्यालयमा परियोजना लागु गरेको राइट फर चिल्ड्रेनका प्रमुख कार्यकारी अधिकृत अनिल पौडेलले बताए ।
अभिमुखीकरण कार्यक्रममा पालिका भित्र रहेको विद्यालयका शिक्षक तथा प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा अनिल पौडेलले परियोजनाको बारेमा जानकारी गराएका थिए ।
हुप्सेकोट र बौदीकाली गाउँपालिकाका २० वटा विद्यालयमा भौतिकपूर्वाधार सुधार, शैक्षिक गुणस्तर सुधार, शैक्षिक सिकाई सुधार लगायतलाई आधार मानेर परियोजनाले काम गर्ने पौडेलले बताए ।
शिक्षामा राजनीतिक हस्तक्षेप बढेको भन्दै हुप्सेकोटमा बुझाए ४ दलले ८ बुदे माग
नवलपुर । नवलपुरको हुप्सेकोट गाउँपालिकाका विद्यालयहरुमा पालिकाले राजनीतिक पूर्वग्राही राखेर विद्यालयमा अनावश्यक हस्तक्षेप गरेको भन्दै यहाँका ४ राजनीतिक दलले पालिकामा आज ज्ञापन पत्र बुझाएको छ ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र राप्रपाले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका हुन् ।
उनीहरुले हुप्सेकोट गाउँपालिका भित्र काजमा रहेका शिक्षकहरु तुरुन्त फिर्ता गर्नु पर्ने, संघीय शिक्षा ऐनसँग बाझिने गरी गरिएका शिक्षक नियुक्ति तुरुन्त रद्द गरिनु पर्ने, प्रधानाध्यापक व्यवस्थापनको नाममा कार्यरत प्रधानाध्यापकलाई वर्खास्त गरी नयाँ प्रधानाध्यापक नियुक्ति बदर गर्नु पर्ने माग राखेका छन् ।
त्यसैगरी शिक्षक, कर्मचारीको नाममा कार्यकर्ता भर्ति केन्द्र बन्द गर्नु पर्ने, विद्यालयमा राजनीतिक हस्तक्षेप बन्द गरिनु पर्ने, राजनीतिक आस्थाकै आधारमा शिक्षक र कर्मचारीलाई अनावश्यक मानसिक यातना दिने काम बन्द गर्न उनीहरुले माग गरेको छ ।
तत्काल आफ्ना माग सम्बोधन नभए आन्दोलनमा जाने उनीहरुले चेतावनी पनि दिएका छन् ।