चितवनमा स्कुल बसमा भएको आगजनीमा मोहन वैद्य निकट कार्यकर्ताको संलग्नता

चितवनको भरतपुरमा स्कुल बसमा आगजनी भएको घटनामा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका कार्यकर्ताको संलग्नता रहेको खुलेको छ।
आगजनीमा उक्त पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)का कार्यकर्ताहरूको संलग्नता खुलेको हो।
संगठनका चितवन अध्यक्ष सुमनाले विज्ञप्ति निकालेर घटना आफूहरूले गराएको भनेका छन्। घटना भएको केहीबेरपछि विज्ञप्ति जारी गर्दै अनेरास्ववियु क्रान्तिकारीले जिम्मा लिएको हो।
आइतबार बिहान सवा ८ बजे भरतपुर महानगरपालिका वडा नम्बर २० दद्रेनी नजिकै स्मल हेभेन स्कुल बसमा आगजनी गरेको भएको थियो।
विज्ञप्तिमा स्कुलले चर्को शुल्क असुलेको,अभिभावकहरूलाई शोषण गर्दै आएको थाहा पाएपछि पटकपटक चेतावनी दिँदासमेत प्रवाह नगरिएकोले चेतावनीस्वरू बसमाथि आगजनी गरिएको भनिएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका एसपी भावेश रिमालले पनि आफूहरूले पनि विज्ञप्ति पाएको र आगजनी गर्ने व्यक्तिको पहिचान भइसकेको बताए।
यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।