५ वटा चोरीको मोटरसाकल सहित ६ जना पक्राउ

चोरी भएका मोटरसाइकल खोजतलास गर्ने क्रममा मकवानपुर प्रहरीले चोरीको ५ वटा मोटरसाइकल सहित ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा हेटौँडा १५ का २० वर्षीय मिलन पाख्रिन, १६ का ३० वर्षका रत्नबहादुर गोले, हेटौंडा १९ का अशोक स्याङ्तान, बकैया गाउँपालिका ८ का १९ वर्षीय सञ्जिव भोलन, बकैया ८ कै ३३ वर्षका रमेश लोप्चन र ईन्द्रसरोवर गाउँपालिका ५ का २९ वर्षीय सुवास बोम्जन रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीका अनुसार प्रहरीले हेटौँडा १५ का मिलन र रत्नबहादुरको साथबाट बा.प्र.०२–०३ प २१९६ नम्बरको चोरीको मोटरसाइकल फेला पारेपछि थप मोटरसाइकल चोरीमा संलग्न व्यक्तिहरु पक्राउ गरेका हुन् ।
प्रवक्ता भण्डारीका अनुसार मिलन र रत्नबहादुरलेसोधपुछका क्रममा उक्त मोटरासइकल बकैयाका सञ्जिव भोलनसँग किनेको बयान दिएपछि प्रहरीले भोलनलाई पनि पक्राउ गरेको थियो । प्रहरीले भोलनको साथबाट समेत बागमती प्रदेश ०२–०४१ प ३९०८ नम्बरको चोरीको मोटरसाइकल फेला पारेको थियो ।
यस्तै भोलनले उक्त मोटरसाइकल बकैयाका रमेश लोप्चन र ईन्द्रसरोवरका सुवास बोम्जनबाट लिएको बयान दिएका थिए । भोलनको बयानको आधारमा प्रहरीले उनीहरुलाई पनि नियन्त्रणमा लिएको छ । प्रहरीले भोलनको साथबाट फेला पारेको मोटरसाइकलको सम्पूर्ण पार्टपुर्जा हेटौंडा १९ का अशोक स्याङतानलाई बिक्री गरेको पाइएपश्चात उनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको प्रवक्ता भण्डारीले जानकारी दिए ।
स्याङ्तानले ना २० प ७७६८ नम्बरको मोटरसाइकलको पार्टपुर्जासहित स्वरुप परिवर्तन गरेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेका ६ जनालाई नै चोरी मुद्दामा जिल्ला अदालत मकवानपुरबाट ८ दिनको म्याद लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको छ । प्रवक्ता भण्डारीले उनीहरुको साथमा रहेको ५ थान मोटरसाइकल र मोटरसाइकल चोर्न प्रयोग हुने ‘मास्टर चावी’ समेत फेला पारेको जानकारी दिए ।
प्रहरीले चोरीएका बा.प्र.०२–०३८ प ७५८१ नं.को एनएस र बा.प्र.०२–०३३ प ६०२० नम्बरको ड्युक मोटरसाइकल फेला पारी अनुसन्धान भइरहेको जनाएको छ ।