मेघौली क्षेत्रमा आतंक मच्चाइरहेको बाघ नियन्त्रणमा




मेघौली । पश्चिम चितवनको मेघौली क्षेत्रमा विगत केही दिन देखी चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएर घर पालुवा जनावरलाई आक्रमण गर्ने गरेको बाघलाई मंगलबार नियन्त्रणमा लिइएको छ ।

चितवन राष्ट्रिय निकुञ्जबाट खटिएको बाघ नियन्त्रक प्राविधिकहरूको टोलीले बाघलाइ पछ्याउदै जादा मकैबारीमा लुकेको अवस्थामा राती बाघलाई डार्ट गरी नियन्त्रणमा लिइएको हो ।




सो बाघलाई अहिले कसरा स्थित खोरमा राखिएको छ । बाघले विगत तिन दिनका अन्तरालमा भरतपुर २८ को सानो भरतपुर गाउँ र अन्द्रौलीमा गरी ६ वटा बाख्रा मारेको राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष विशाल कुमालले बताए ।

तिन दिनको अथक प्रयास पश्चात् भरतपुर –२८ अन्द्रौली र गोलाघाट गाउँमा पोथी बाघ नियन्त्रण गर्न सफल भएको भन्दै उनले यसको लागी सहयोग पुर्याउने निकुञ्जका कर्मचारीहरू एवं बाघ नियन्त्रक टेक्निसियन टिम, नेपाली सेना, सुरक्षा कर्मी, पत्रकार, मेघौली मध्यवर्ती उपभोक्ता समिति परिवार, राप्ति नियन्त्रण मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुह, टाइगर ट्रेकर टिमलाइ धन्यवाद दिएका छन ।

निकुञ्जका पशु चिकित्सक डा विजय श्रेष्ठका अनुसार नियन्त्रणमा लिइएको बाघ साढे दुई वर्षको हो । डा श्रेष्ठले आमाबाट छुट्टिने बेलामा ठुला जनावर आक्रमण गर्न नसक्दा सो बाघ मानव वस्तिमा आएर दुख दिन लागेको बताए ।



सम्बन्धित
Loading...