दुम्किबासमा मृत भेटिएको पाटे बाघ पोष्टमार्टम गरियो, यस्तो छ मर्नको कारण – फोटो फिचर


रामकुमार श्रेष्ठ –
नवलपुर । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्तीसँग जजिक रहेको नवलपुरका राष्ट्रिय तथा सामुदायिक वनमा पाटेबाघको गतिविधि बढेपनि सम्बन्धित निकायको ध्यान नपुग्दा यसले ज्यान गुमाउने क्रम बढेको छ ।



नवलपुरमा गएको फागुन यता ३ वटा पाटेबाघ मृत फेला परेको छ । निकुञ्ज र मध्यवर्ती सामुदायिक वन भन्दा बारिह रहेका जंगली जनवारको चितवन राष्ट्रिय निकुञ्जले संरक्षणमा ध्यान नदिने र डिभिजन वन कार्यालयले आफ्नो इलाकामा रहेका यस्ता वन्यजन्तुको गणना समेत नगर्ने गरेका कारण यो क्षेत्र अहिले पाटेबाघको लागि असुरक्षित बन्दै गरेको छ । यस अघि २ वटा भाले पाटे बाघ मृत फेला परेको थियो भने अहिले फेरि पोथी पाटेबाघ मृत फेला परेको हो ।

नवलपुरको विनयीत्रिवेणी गाउँपालिका–२ दुम्किबासको विनयी खोला बगरमा पाटे बाघ स्थानीयले देखेपछि स्थानीयले शव डिजिभन वन कार्यालय दुम्किबासलाई खबर गरेको थियो ।
खोला किनारमा विगत ४÷५ दिनदेखि देखिएको उक्त बाघ स्थानीयले देखेपछि मानवीय क्षति हुने ढंगले आक्रमण नगरेपछि कसैले चासोपनि दिएनन तर पछिल्लो समय बाघको गतिविधि शंकास्पद लागेपछि स्थानीयले वनलाई खबर गरेको थियो । वनले खबर पाएर बाघ भएको स्थानमा पुगेको १÷२ घण्टाको अन्तरालमा बाघ मरेको शव डिभिजन वन कार्यालय, दुम्किबास नवलपुरका वन अधिकृत कुलचन्द्र दवाडीले बताए ।




अर्को बाघको आक्रमणबाट घाइते भएर बाहिर निस्केको उक्त बाघलाई बेलैमा उद्दार गरेर उपचार गरेको भए बचाउन सकिने सम्भावना पनि रहेको स्थानीय बताउँछन् ।
यस अघि यस क्षेत्रमा एउटा भाले पाटे बाघ बदेललाई थाप्न राखेको पासोमा परेर मरेपछि गाडेर राखेको अवस्थामा भेटिएपछि यस क्षेत्रमा बाघको संरक्षण र उद्दारमा ध्यान दिनु पर्नेमा त्यसो हुन नसकेको देखिन्छ ।
पछिल्लो पटक बुधबार फेला परेको करिब १० बर्षको पोथी पाटेबाघ सिकारीको आक्रमणबाट नभई भाले बाघ वा अन्य कुनै जंगली जनवारको आक्रमणबाट घाइते भई विरामी परेर निधन भएको चितवन राष्ट्रिय निकुञ्जको पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठले बताए ।

बुधबार मृत भेटिएको बाघलाई विहीबार डिभिजन वन कार्यालय नवलपुर कावासोतीको कम्पाउण्ड भित्र खाडल खनि पुरिएको छ ।
चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र भित्र बाघको लागि प्रयाप्त आहार भए पनि नयाँ बयस्क बाघ र बुढा भएका बाघहरु वस्ती नजिकका जंगलहरुमा नयाँ बासस्थान खोजेर आउने गर्दछ । नवलपुरका राष्ट्रिय तथा सामुदायिक वनमा १० देखि १२ वटा पाटे बाघ रहेको अनुमान गरिएको छ ।

नवलपुरमा अहिलेसम्म मृत भेटिएका ३ वटा बाघ मध्य एउटा बाघलाई खाडल खनेर गाडिएको अवस्थामा फेला परेकोले नवलपुरका वन क्षेत्रमा तस्करको निशानामा बाघ रहेको प्रष्ट हुन्छ । अहिलेसम्म मृत भेटिएका ३ वटा बाघ मध्ये अन्य दुई वटा भाले बाघको मृत्यु शंकास्पद रहेको र अझै पनि छानविन भईरहेको वरिष्ठ पशु चिकित्सक श्रेष्ठले बताए ।

यस अघि मरेका दुई वटा बाघको घटनाको अनुसन्धान अझै जारी रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताए । उनका अनुसार बदेल मार्न थापिएको धरापमा परेर बाघ मरेको भन्ने भए पनि कसले मारेको भन्दै यकिन हुन सकेको छैन ।

बासस्थान अभावकै कारण निकुञ्ज बाहिर वा बस्ती आसपासको क्षेत्रमा बाघ निस्कनु वस्ती आसपासको जंगलमा निस्केका बाघहरुले घरपालुवा जनावर र मानिसलाई आक्रमण गरेका घटनाहरु सार्वजनिक भईरहनु र सँगसँगै ति बाघहरु लगातार मृत भेटिन थाल्नुलाई बाघहरु बस्ती नजिक आएपछि बाघ र मानिस दुवै एक अर्काको कारणले एक अर्कालाई असुरक्षित महशुस गरेको कुरामा कसैको पनि दुई मत छैन । मानव र वन्यजन्तुबीचको द्वन्द कम गर्न बेलैमा ध्यान नदिए बस्ती आसपास आएका यस्ता बाघहरु मर्ने क्रम बढ्ने देखिन्छ ।



सम्बन्धित
Loading...