गर्मी बढेपछि चितवनको रत्ननगरमा जेठ १९ गतेसम्म र नेपालगञ्जमा ३ दिन विद्यालय बन्दबन्द,




अत्यधिक गर्मी बढेपछि चितवनको रत्ननगर नगरपालिकाले सोमबारदेखि जेठ १९ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

नगर शिक्षा अधिकारी नारायणप्रसाद वाग्लेले अत्यधिक गर्मीका कारण विद्यालयका बालबालिकालाई पठनपाठनमा समस्या भएकाले जेठ १९ गतेसम्म नगरक्षेत्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरिएको बताए ।




विद्यालयमा विद्यार्थीहरु बेहोस हुने समस्या आएपछि विद्यालयमा बिदा दिइएको उनले बताए । उनले विद्यार्थीहरुमा स्वास्थ्य समस्या आएको गुनासो अभिभावकहरुले गरेपछि केही दिनका लागि बिदा दिइएको बताए । बर्खे बिदामा कट्टी हुने गरी सम्पूर्ण विद्यालयमा बिदा दिने निर्णय गरिएको शिक्षा शाखाले जनाएको छ ।

यसैबीच, रत्ननगरमा गर्मीका कारण विद्यालय बन्द हुने भएकाले पोलियोविरूद्धको आइपिभी खोप अभियानसमेत प्रभावित हुने भएको छ ।

रत्ननगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेलले जेठ १९ गतेसम्म विद्यालय बन्द हुने भएकाले आइपिभी खोप कार्यक्रम जेठ २० गतेदेखि सञ्चालन गर्न लागिएको जानकारी दिए ।

आइतबारदेखि सुरू भएको आइपिभी खोप केही विद्यालयमा लगाइएको थियो । बाँकी रहेका बालबालिकालाई जेठ २० गतेदेखि खोप लगाइने उनले बताए ।

त्यसैगरी गर्मी अत्यधिक बढेपछि नेपालगन्ज उपमहानगरपालिकाले विद्यालयहरूमा गर्मी बिदा दिएको छ।
अत्यधिक गर्मी र ‘लु’ का कारण पठनपाठनमा समस्या भएपछि तीन दिनका लागि नगरअन्तर्गतका सम्पूर्ण विद्यालयमा बिदा दिइएको शिक्षा, युवा तथा खेलकुद महाशाखाका उपसचिव गोर्खबहादुर थापाले जानकारी दिए।

उनका अनुसार यही १५ देखि १८ जेठसम्म उपमहानगरपालिका क्षेत्रमा रहेका सम्पूर्ण विद्यालयमा बिदा दिइएको छ। विपद् व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार बिदा दिइएको हो। १५ गते गणतन्त्र दिवसको सार्वजनिक बिदा छ भने १९ गते शनिबार परेको छ।

नेपालगन्जको तापक्रम अहिले ४२ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ। अत्यधिक गर्मीले यस क्षेत्रका सर्वसाधारणलगायतको जनजीवन कष्टकर बनेको छ।



सम्बन्धित
Loading...