कावासोतीमा नगरपालिकाले खन्दै गरेको नालामा पुरिएर ३ जना मजदुरको निधन

रामकुमार श्रेष्ठ –
नवलपरासी । पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा नगरपालिकाले निर्माण गर्दै गरेको नालामा पुरिएर ३ जना मजदुरका निधन भएको छ ।
ज्यान गुमाउने ३ जना नै महिला रहेका छन् । उनीहरु सबै नालामा काम गर्दै गरेका मजदुरहरु हुन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार नालामा एक्कासी पहिरो खस्दा ३ जनाको निधन भएको हो ।
पौडेलले निर्माणाधिन नाला (ढल) निकासीको लागि हेमपाइप राख्ने क्रममा कावासोती २ फलफूल चोकमा २० फिट नालामा काम गर्ने क्रममा अचानक सोही ठाउँमा खनि जम्मा पारेको माटोको ढिस्को खसेर पुरिएको थियो ।
प्रहरीका अनुसार ढिस्कोले पुरिएर कावासोती ५ लक्ष्मीनगर निवासी ५१ बर्षीय सेती राना, २६ बर्षीय तान माया गाहा र ३२ बर्षीय चमेली दर्लामीको निधन भएको हो ।
उनीहरुलाई जेसिबी र स्थानीयको सहयोगमा प्रहरीले उद्दार गरेर जिल्ला अस्पताल डण्डा पुर्याइएकोमा अस्पतालले मृत घोषणा गरेको हो ।
उक्त नाला विश्व बैंकको ७ करोड सहयोगमा निर्माण गरिएको थियो । केही दिन भित्र काम सक्ने गरी काम भईरहेको थियो ।
यसैबीच स्थानीयले नगरपालिकाले बर्षा लागेपछि काम गरेको र बर्षा लागेपछि काम लगाएका कारण मजदुरहरुको ज्यान गरेको भन्दै नगर प्रमुख विष्णु भुसालको घर घरेर ढुंगामुढा गरेको स्थानीयले जनाएका छन् ।
स्थानीयले उक्ता नाला ठूलो भएको र बर्षामा काम गर्दा कुनै दुर्घटना हुन सक्ने भन्दै नगरपालिकाको कामको विरोध गर्दै आएको थियो ।
नाला निर्माणको जिम्मा स्थानीय ठेकेदार मित्रलाल पाण्डेले लिएका थिए । नगरप्रमुख, निर्माण ठेकेदार, प्राविधिक लगायतको लापारवाहीले घटना भएको भन्दै स्थानीय आक्रोशित भएका छन् ।