कावासोती नगरपालिकामा तोडफोड, पीडित पक्ष र नगरपालिकाबीच छलफल जारी
रामकुमार श्रेष्ठ
नवलपुर । पूर्वी नवलपरासीको कावासोती २ फलफूल चोक अगाडि नाला निर्माणको क्रममा नालामा पुरिएर ३ जना मजदुरको मृत्यु भएको विरोधमा स्थानीयले आज नगरपालिकाको कार्यालयमा तोडफोड गरेका छन् ।
आक्रोसित स्थानीय बासिन्दा, पीडितका परिवार र आफन्तले नगरपालिकामा ढुंगामुढा सहित तोडफोड गरेका हुन् ।
प्रहरीका अनुसार ढिस्कोले पुरिएर कावासोती ५ लक्ष्मीनगर निवासी ५१ बर्षीय सेती राना, २६ बर्षीय तान माया गाहा र ३२ बर्षीय चमेली दर्लामीको निधन भएको हो । उनीहरु सबै नालामा काम गर्दै गरेका मजदुरहरु हुन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार नालामा एक्कासी पहिरो खस्दा ३ जनाको निधन भएको हो ।
आक्रोसित बासिन्दाले नगरप्रमुख विष्णु भुसाललाई छलफलमा ल्याउनु पर्ने भन्दै तोडफोड गरेको हो । अहिले पनि नगरपालिका अगाडि उनीहरुले प्रदर्शन गरिरहेका छन् ।
यसैबीच नगरपालिकामा पीडित पक्ष, सरोकारवाला र नगरपालिकाबीच छलफल चलिरहेको छ ।
मृतकका परिवारलाई क्षतिपूर्ति दिनु पर्ने, दोषीलाई कारवाही गर्नु पर्ने, मृतकका परिवारका आफन्तलाई रोजगारीको व्यवस्था गर्नु पर्ने लगायतका माग राखेका छन् ।
प्रदर्शनको क्रममा भ्रष्ट नगरप्रमुख राजिनामा दे, नगरप्रमुख मुर्दाबाद, दोषीलाई कारवाही गर जस्ता नारा लगाएको थिए ।
यसेबीच कावासोती नगरपालिकाले आज ३ जना मदजुरको निधन भएकोमा दुःख व्यक्त गर्दै शोक विदा दिएको छ ।
यता नेपाली काँग्रेस कावासोतीले एक विज्ञप्ति जारी गर्दै घटनाको सत्यतथ्य बाहिर ल्याउनका लागि छानविन गर्न माग गरेको छ ।




