विकासको नाममा लापरवाहीको यो हद कहिलेसम्म ? भिडियो सहित

रामकुमार श्रेष्ठ –
नवलपरासी । पूर्वी नवलपरासीको कावासोतीमा केही दिन अघि नाला खन्दै गर्दा एक्कासी खसेको माटोले पुरिएर ३ जना मजदुरको मृत्यु भयो ।
विश्व बैंकको सहयोगमा कावासोती नगरपालिकाले निर्माण शुरु गरेका नाला निर्माणको एक महिना वित्न लागि सक्दा पनि अझै पुरा हुन सकेको छैन । ठूलाठूला खाडल खनेर बनाइएको उक्त नाला हेर्दै डरलाग्दो र व्यस्त बजारमा भएकोले कुनै पनि बेला अर्को दुर्घटना हुने जोखिममा छ ।
नवलपुर जिल्लाको कावासोती फलफूल चोकको यो व्यस्त बजारमा अहिले नगरपालिकाले बर्षामा ढल व्यवस्थापनका लागि नाला निर्माण शुरु गरेको छ । बर्षा लाग्नै लाग्दा शुरु गरेको यो नाला ढल व्यवस्थापनको लागि भए पनि कतै फेरि अर्को दुर्घटना निम्तने होइन भन्ने उत्तिकै जोखिम पनि रहेको छ । बेलैमा ढल निर्माण कार्य पुरा नहुँदा यहाँ यात्रा निकै जोखिम पूर्ण बनेको कावासोतीका स्थानीय बासिन्दा लोकनाथ काफ्ले बताए ।
मानिस हिड्न आउजाउ नै गर्न असहज हुने गरिए गरिएको यस्ता निर्माण कार्यले यात्रा जोखिम मात्र भएको छैन । यहाँको बजार पनि प्रभावित भएको छ । बाटो जोखिम भएका कारण व्यापारमा समेत प्रभाव परेको कावासोतीका स्थानीय व्यवसायी बाबुराम पोख्रेलले बताए ।
बर्षा नजिकिदै गर्दा नाला निर्माण कार्य नसकिदै बर्षा लागेर नाला पुरिए बर्षामा नालामा भरिएको पानीमा डुबेर थप दुर्घटना हुने खतरा पनि उत्तिकै छ । रातको समयमा आउजाउ गर्ने यात्रुहरु झुक्किएर नालामा खस्ने र ज्यानै जाने जोखिम पनि उत्तिकै रहेको बाबुराम पोख्रेललेको ठम्याइ छ ।
अहिले कावासोती नगरपालिकामा मात्रै होइन देश भर असारे बजेट सक्ने चटारो छ । समय हुन्जेल जोखना हेर्ने र समय घर्के पछि हतारिने प्रवृत्तिले विकास निर्माणको काममा जोखिम पनि उत्तिकै बढ्ने गरेको छ । बर्षा लाग्न थालिसकेको र कावासोतीमा केही दिन अगाडि भएको घटनाबाट पाठ सिक्दै नवलपुर जिल्ला भरी पूर्वपश्चिम राजमार्ग लगायत अन्य क्षेत्रमा भएको जोखिमपूर्ण काममा पूर्ण रुपमा सुरक्षा सावधानी अपनाएर काम गर्ने स्थानीय पालिका, निर्माण व्यवसायीहरुलाई निर्देशन दिइएको नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले बताए ।
केही दिन अघि यही नाला निर्माण गर्दा ३ जना मजदुरको ज्यान गएपछि अब यस्ता निर्माण कार्य गर्दा सावधानी अपनाउने पर्ने तर्फ सम्बन्धित निकाय, उपभोक्ता समिति र ठेकदारको ध्यान जानु आवश्यक छ ।