सिटिइभिटीको कार्यालयमै क्रिप्टोको अवैध ‘माइनिङ’




कीर्तिपुर नगरपालिका– १ का ४० वर्षीय विश्वास गुरुङ र भक्तपुर नगरपालिका– ७ का २५ वर्षीय राजेन्द्र ताहामता प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)का अधिकृत हुन् । तर, उनीहरूले आफ्नो क्षमता भने ‘क्रिप्टो करेन्सी माइनिङ’मा प्रयोग गरेको खुलेको छ । घटनामा संलग्न भएको आरोपमा दुवै अधिकृतलाई प्रहरीले पक्राउ गरेको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का अनुसार उनीहरूले वर्ष दिनदेखि परिषद्को कार्यालयमा अवैध तवरले ‘क्रिप्टोकरेन्सी माइनिङ’ गर्दै आएका थिए । धन्दामा प्रयोग गरिएका ६४ कम्प्युटरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ३० जेठमा पक्राउ परेका उनीहरूविरुद्ध अनुसन्धान भइरहेको छ । सिआइबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले सिटिइभिटीका अधिकृत नै क्रिप्टोकरेन्सी माइनिङमा संलग्न रहेको अनुसन्धानबाट खुलेको बताए ।




‘सिटिइभिटीको कार्यालयमै क्रिप्टोकरेन्सीको अवैध तवरले माइनिङ भइरहेको सूचना प्राप्त भएको थियो । सूचनापछि हामीले निक्कै अवधि निगरानीमा राख्यौँ । विभिन्न प्रविधि प्रयोग गरी क्रस चेक गर्‍यौँ । धन्दा भएकै पुष्टि भएपछि हामीले उनीहरूलाई पक्राउ गर्‍र्यौँ । कार्यालयबाट ६४ कम्प्युटर र त्यसमा प्रयोग गरिएका सर्भर बरामद गरिएका छन्,’ एसपी बोगटीले भने ।

प्रहरीका अनुसार गुरुङ र ताहामता आइटी(इन्फरमेसन टेक्नोलोजी) इन्जिनियर हुन् । लोक सेवाको परीक्षापछि उनीहरूले सिटिइभिटीमा अधिकृत(प्राविधिक) तहमा नाम निकालेका थिए । उनीहरू सिटिइभिटीमातहतको टे«निङ इन्स्टिच्युट फर टेक्निकल इन्स्ट्रक्सन (टिआइटिआई) भवनको इन्फरमेसन टेक्नोलोजी ल्याबमा कार्यरत थिए । उनीहरूले सोही ल्याबमा क्रिप्टोकरेन्सीको अवैध तवरले माइनिङ गर्दै आएका थिए ।

बरामद कम्प्युटर र सर्भरको ल्याब परीक्षण गर्न डिजिटल फरेन्सिक ल्याब(डिएफएल) पठाइएको सिआइबीका प्रवक्ता एसपी बोगटीले बताए । उनले भने, ‘हामीले विभिन्न प्राविधिक परीक्षण गर्‍यौँ । क्रिप्टोको अवैध तवरले माइनिङ भएको देखिन्छ । यद्यपि, यस विषयमा ल्याब परीक्षण हुन बाँकी छ । त्यसका लागि बरामद सामग्रीलाई डिएफएल पठाइएको छ । रिपोर्ट आएको छैन । रिपोर्ट आएपछि मात्रै क्रिप्टोको माइनिङ गर्दै आएको अवधि खुल्ने र उनीहरूले क्रिप्टोको माइनिङ गरे, राज्यलाई कति क्षति पुर्‍याए भन्ने विषय त्यसपछि मात्रै भन्न सकिन्छ ।’

सिटिइभिटीको कार्यालय भक्तपुर मध्यपुर ठिमी नगरपालिका –२ स्थित सानोठिमीमा छ । उनीहरूले सोही कार्यालयमा निर्धक्कसँग क्रिप्टोको अवैध माइनिङ गर्दै आएका थिए । प्रहरीले दुवैलाई कार्यालयबाटै पक्राउ गरेको हो ।



सम्बन्धित
Loading...