चितवनको राप्ती नगरपालिकाका नगर प्रमुखको गाडीमा ढुंगा प्रहार

चितवनको राप्ती नगरपालिका प्रमुख शमशेर लामा सवार गाडीमा ढुंगा प्रहार भएको छ । आइतबार साँझ ९ बजे १५ को समयमा राप्ती नगरपालिका २, गड्यौली बुद्ध शान्तिचोक स्थितिबाट महेन्द्र रार्जमार्गतर्फ आउने क्रममा नगर प्रमुख सवार बा २ झ ३६६६ नम्बरको सवारी साधनमा ढुंगा प्रहार भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
गाडी स्वयं नगरप्रमुखलेनै चलाएका थिए । प्रहार गरेको ढुंगा चालक साइडको पछाडीको भागको सिसामा लागेको थियो ।
प्रहरीका अनुसार ढुंगा लागि सिसा फुटेको छ भने मानवीय क्षति भएको छैन् । प्रमुखको गाडीमा ढुंगा प्रहार भएको खबर प्राप्त हुनासाथ प्रहरी टोली खटी अन्य अनुसन्धान कार्य भइरहेको छ ।
लामा र वडाध्यक्षहरुका बीचमा लामो समयदेखि विवाद हुँदै आएको छ । विवादका कारणले नगरसभासमेत लामाले गर्न सकेका छैनन् । केही समय अगाडि लामाकै माग अनुसार जिल्ला सुरक्षा समितिले उनको सुरक्षाका लागि एक जना पिएसओ समेत खटाएको छ ।