नेपाली सेनाको गाडीको ठक्करबाट चार जना घाइते

चितवन – चितवनको राप्ती नगरपालिका वडा नं–५, भण्डारास्थित नेपाली सेनाको गाडीको ठक्करबाट चार जना घाइते भएका छन् ।
पूर्व–पश्चिम सडक खण्डमा सुनाचुरी व्यारेकमा सामान छोडेर काठमाडौँ फर्किने क्रममा नेपाली सेनाको प्रदेश ३–०१–००१ ग ३५३९ नम्बरको वानटन गाडीले विपरीत दिशाबाट आइरहेको बा ३ ख ३८१९ नम्बरको यात्रुबाहक मिनिबसलाई ठक्कर दिँदा चालकसहित चार जना घाइते भएका हुन् ।
घाइते हुनेहरुमा राप्ती–४ बस्ने ३५ वर्षीया उर्मिला गौतम (ढुङ्गाना), निजका छोरा ३ वर्षीय दीक्षान्त ढुङ्गाना, बस चालक राप्ती–८ बस्ने ४५ वर्षीय तारानाथ पाठक र सहचालक राप्ती–५ बस्ने ३४ वर्षीय विष्णु मोक्तान रहेका छन् ।
घाइतेहरुको नयाँ मेडिकल कलेज, भरतपुरमा पठाइएको प्रहरीले जनाएको छ ।
दाजुबहिनी घाइते
भरतपुर । भरतपुर महानगरपालिका वडा नं–२९, भतेरीमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा दाजुबहिनी घाइते भएका छन् ।
मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको प्रदेश ३–०३–०२१ प २६२६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चालक भरतपुर–११ बस्ने ४८ वर्षीय कुइके गुरूङ र मोटरसाइकल पछाडि सवार निका बहिनी ४० वर्षीया आइतु गुरूङ घाइते भएका हुन् ।
टाउको र शरीरमा चोट लागी गम्भीर घाइते भएका कुइकेको नयांँ मेडिकल कलेज, भरतपुरमा र आइतुको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।