एक किलो बढी कोकिनसहित दुई विदेशी नागरिक पक्राउ

काठमाडौँ, ३ साउन । लागुऔषध नियन्त्रण ब्युरोको टोलीले एक किलो एक सय ग्राम अवैध लागुऔषध कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतीय नागरिक २३ वर्षीय फहिमुद्दिननासिमुद्दिन अन्सारी र नाइजेरियन नागरिक ४४ वर्षीय इकेचुकवा सिरिल ओबोडोइफुला रहेका लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए।
उनले भने, ‘कतार एअरलाइन्सबाट यही साउन १ गते नेपाल आएका नाइजेरियन नागरिक ओबोडोइफुलाले ल्याएको उक्त कोकिनसहित भारतीय नागरिक अन्सारीलाई ठमेलबाट पक्राउ गरिएको हो।’
उक्त कोकिन लिएर आएका नाइजेरियन नागरिक ओबोडोइफुलालाई पनि काठमाडौंको पिंगलास्थानबाट पक्राउ गरिएको प्रमुख आचार्यले बताए। उक्त कोकिन लिन आएका अन्सारी इन्डिगो एयरलाइन्ससबाट मुम्बई हुँदै काठमाडौं आएकाे खुल्नमा आएको ब्युरोले जनाएको छ।
उक्त कोकिन क्याप्सुल बनाएर ज्याकेटमा लुकाएर कतारदेखि ल्याएको खुलेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूमाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार कारबाही हुने ब्युरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक आचार्यले बताए।