रौतहटमा २ भारतीय तीर्थयात्रीको मृत्यु
पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको पौराइमा बस र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । ९ जना घाइते भएका छन ।
चन्द्रपुर नगरपालिका–१, मंगलपुरको जंगलमा रोकी राखेको भारतीय तीर्थयात्री सवार बसलाई मालवाहक ट्रकले पछाडिबाट ठक्कर दिँदा २ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको हो ।
काठमाडौंबाट जनकपुरतर्फ गइरहेको ना.६ ख. ९०३० तीर्थयात्री बोकेको बसलाई सोमवार राति १२.४५ बजेको समयमा को. १ ख २६२५ नम्वरको मालबाहक ट्रकले पछाडीबाट ठक्कर दिएको रौतहट प्रहरीले जनाएको छ ।
ट्रकले ठक्करबाट उडिसा राज्यको उपरा साही नयरखण्डाला मन्दिर जागामारा भुवनेश्वर खोडदाहाका ५२ वर्षीय विजयकुमार जेना र ५४ वर्षीय चरण विशालको घटनास्थलमा ज्यान गएको रौतहट प्रहरीका डीएसपी नवीन कार्कीले बताए । घाइतेमध्ये ६ जनाको चन्द्रपुरमा र ३ जनाको वीरगञ्जमा उपचार भइरहेको डीएसपी कार्कीले बताए ।