नारायणी किनारको लुकेको बाघ अझै भेटिएन, थप हात्ती र ड्रोनको प्रयोग गरिदै
नारायणगढ नजिक नारायणी नदी किनारमा आइतबार बिहान एक व्यक्तीलाई आक्रमण गरेर झाडीमा १३ घण्टाअघि लुकेको बाघ अझै नियन्त्रणमा आएको छैन । बाघ नियन्त्रणमा लिन परिचालन गरिएको हात्ती नै तर्सिएर भागेपछि बाघलाई बस्तीनजिक आइपुगेको बाघ नियन्त्रण झन् कठिन भएको छ ।
बाघ नियन्त्रणमा लिन चितवन निकुञ्जका पशु चिकित्सक र हात्तीसहित राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा प्राविधिकहरू मध्यान्हदेखि खटेका छन् ।
बाघले आइतबार बिहान साढे ५ बजे तिर नारायणगढ बेलटाँडीका पशुपति श्रेष्ठलाई आक्रमण गरी घाइते बनाएको थियो । बाघ नियन्त्रणमा लिन तीनवटा हात्ती आए पनि बाघ नजिक पुग्दा गर्जन सुनेर दुई वटा हात्ती तर्सेर भागेका छन् । ती हात्ती भागेपछि सौराहाबाट थप दुई हात्ती आउँदै छन् ।
चितवनमा मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्न ड्रोन र हात्तीको प्रयोग गर्ने तयारी गरिएको छ । आज बिहान नारायणगढस्थित मानवबस्ती नजिक नारायणी नदी किनारमा मान्छेलाई आक्रमण गरेको बाघलाई नियन्त्रण गर्ने तयारी गरिएको हो ।
जिल्ला वन कार्यालय चितवनका प्रमुख थिरबहादुर कार्कीका अनुसार नारायणी किनारमा रहेको झाडीमा बाघ लुकेको आशङ्का गरिएको छ ।
उक्त बाघ खोजी गर्नका लागि ड्रोन क्यामराबाट हेर्ने तयारीसहित चितवन राष्ट्रिय निकुञ्ज कार्यालयबाट ड्रोन मगाइएको उनले जानकारी दिए । उनका अनुसार ड्रोनले बाघ पहिचान गरेपछि हात्तीको सहायताले डार्ट (परबाटै बेहोस पार्ने सूई हान्नु) गर्ने योजना छ ।
नारायणी किनारमा नदीमा मिसिनुअघि ढललाई प्रशोधन गर्न बनाइएको ट्याङ्क क्षेत्रको नर्कट झाडीमा बाघ रहेको अनुमान गरिएको प्रमुख कार्कीले जानकारी दिए । सो क्षेत्रमा एकातर्फ मानवबस्ती छ भने अर्काेतर्फ नारायणी नदी पर्दछ ।