काभा भलिबलमा उत्कृष्ट प्रदर्शन गर्ने निरूता ठगुन्ना सहायक हवल्दारमा बढुवा




काठमाडौं । काभा वुमन्स च्यालेन्ज कपमा उत्कृष्ट प्रदर्शन गरेकी नेपाली महिला भलिबल टिमकी खेलाडी निरुता ठगुन्नाको बढुवा भएको छ । उनी एपीएफमा सिपाहीबाट सहायक हवल्दारको पोष्टमा बढुवा भएकी हुन् । बढुवा भएकी ठगुन्नालाई सशस्त्र प्रहरी बल नेपाल खेलकुद तथा शारिरीक सुगठन शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक रमेश कुमार पाण्डेले बुधबार दर्ज्यानी चिन्ह प्रदान गरे ।

२०७६ सालमा एपीएफमा लोकसेवामा नाम निकालेर सिपाही बनेकी निरुताले उत्कृष्ट खेल प्रदर्शन गर्दै बढुवा पाएकी हुन् । त्यसअघि उनले ३ वर्ष त्रिभुवन आर्मी क्लबबाट खेलेकी थिइन् । यसअघि २२औं सशस्त्र प्रहरी दिवस–२०७९को अवसरमा सरस्वती चौधरीलाई सशस्त्र प्रहरी जवानबाट सशस्त्र प्रहरी सहायक हवल्दार पदमा पदोन्नति गरिएको थियो ।



यस्तै ‘काभा वुमन्स भलिबल नेसन्स लिग–२०२४’ मा सहभागी भएका नेपाल एपीएफ क्लवका तीन जना महिला भलिबल खेलाडीहरुलाई सम्‍मान गरिएको छ । सशस्त्र प्रहरी सहायक हवल्दार सरस्वती चौधरी, निरुता ठगुन्ना र सशस्त्र प्रहरी जवान कविता भट्टलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सम्मान गरेका हुन् ।

महानिरीक्षक अर्यालले लामो समयदेखि नेपाल एपीएफमा आवद्ध रही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताहरुमा सहभागी भई उत्कृष्ट खेल प्रदर्शन गरको भन्‍दै उनीहरुलाई नगद पुरस्कारसहित सम्मान गरेको सशस्त्र प्रहरी कार्यालयले जनाएको छ ।

साउन १७ देखि २३ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा सम्पन्न भएको थियो ।



सम्बन्धित
Loading...