नवलपुरमा बस्तीमा पसेर पशुचौपाया खाइदिने बाघ नियन्त्रणमा




नवलपुरको विनयी त्रिवेणी गाउँपालिका १ मा बगुबन वस्तीमा बसेर पशुचौपाया खाईदिने बाघलाई नियन्त्रणमा लिइएको छ । साउन ३२ गते बस्तीमा पसेको बाघलाई आज नियन्त्रणमा लिईएको हो ।

चितवन राष्ट्रिय निकुञ्ज निमित्त प्रमुख अविनाश मगरका अनुसार बाघलाई सोमबार चितवन राष्ट्रिय निकुञ्जको टोलिले मदरबाबा सामुदायिक वन बाट डार्ट गरेर नियन्त्रणमा लिएको हो ।




अन्दाजी ६/७ वर्षको भाले बाघ अर्को बाघ सँग लडेर घाईते भएको थियो । जंगलमा घाईते भएर बस्ती पसेको बाघले गत साउन ३२ गते विनयी त्रिवेणी गाउँपालिकाको वडा नं १ मा रहेको बगुबनमा दुईवटा बाख्रा र एउटा भैसीलाई आक्रमण गरेर मारेको थियो ।

बस्तीमा पसेको बाघ चौपायालाई आक्रमण गरे पछि नजिकैक मकै बारीमा पसे पछि स्थानिय त्रसित थिए । मकै बारीमा लुकेको बाघ सोही दिन दिउँसो मदरबाबा सामुदायिक वन प्रवेश गरेको थियो ।

निकुञ्जको टोलिले साउन ३२ गते देखि निरन्तर बाघलाई नियन्त्रणमा लिन कोसिस गरेको भए पनि आज मात्रै सफलता मिलेको हो ।

बाघ नियन्त्रणमा लिन राष्ट्रिय प्रकृति संरक्षण कोष, चितवन राष्ट्रिय निकुञ्ज र नेपाली सेनाको टोली खटिएको थियो ।

उक्त बाघको पछिल्लो भागमा अर्को बाघसँग जुध्ने क्रममा चोट लागेको छ । उक्त बाघलाई सौराहा लगेर उपचार गर्ने र त्यसपछि निकुञ्जमा छाडिने निमित्त प्रमुख मगरले बताए ।



सम्बन्धित
Loading...