कावासोतीमा रेडक्रसले शववाहन सञ्चालनमा ल्यायो
नवलपुर । रेडक्रस सोसाइटी कावासोतीले कावासोतीमा शव वाहन सञ्चालनमा ल्याएको छ ।
गरिव तथा विपन्न परिवारलाई निशुल्क र अन्यलाई न्यूनतम शुल्कमा उपलब्ध गराउने गरी आजदेखि शव वाहन सञ्चालनमा ल्याइएको नेपाल रेडक्रस सोसाइटी कावासोती शाखाका अध्यक्ष बाबुराम कंडेलले बताए ।
शववाहनको आज ६२ औं नेपाल रेडक्रस स्थापना दिवसको अवसर पारेर सञ्चालनमा ल्याइएको हो । यो शव वाहन रेडक्रस शाखा कावासोतीको आफ्नै लगानीमा साढे ७ लाख रुपैयामा खरिद गरि सञ्चालनमा ल्याइएको हो ।
यसैबीच नेपाल रेडक्रस सोसाइटी कावासोतीले रेडक्रसको स्थापना दिवसको अवसर पारेर आज कावासोतीमा मावि स्तरीय अन्तर विद्यालय तिजगीत प्रतियोगिताको आयोजना गरेको छ ।
प्रतियोगितामा कावासोती भित्रका विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
प्रतियोगिताको प्रदेश सभा सदस्य विन्दु पौडेल, गण्डकी प्रदेश सभाका पूर्व सांसद ओमकला गौतम लगायतले संयुक्त रुपमा तिजको गीत गाएर उद्घाटन गरे ।
कार्यक्रममा जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विक लगायत विभिन्न महिला अधिकारकर्मी तथा रेडक्रसकर्मीहरुले शुभकामना मन्तव्य राखेका थिए ।