सडक निर्माणमा भएको लापरवाहीले नवलपुरमा डेंगु बढ्यो


नवलपुरको दुम्किबासमा सडक छेउमा रहेको नालामा जमेको पानी । सडक छेउमा जमेको पानीले डेंगु बढेको स्वास्थ्यकर्मीको भनाई छ ।



बोमबाल गिरी – नवलपुर । नारायाणघाट–बुटबल सडक विस्तार गरिरहेको चिनीयाँ ठेकेदार कम्पनीको लापरवाहीले नवलपुरमा डेंगु ह्वात्तै बढेको छ । ठेकेदार कम्पनीले समयमै काम नसकी सडकमा खाल्डाखुल्डी पारेर छोड्दा जमेको पानीका कारण डेंगु बढेको हो ।

नारायणघाट–बुटबल सडक खण्डले छोएका पालिकाहरुमा सबैभन्दा बढी डेंगु देखिएको छ । गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकालाई यो सडकले छोएको छ । मंगलबार सम्मको तथ्यांक अनुसार जिल्लामा ९९ जनामा डेंगु संक्रमण देखिएको छ ।


जिल्ला स्वास्थ्य कार्यालयले दिएको तथ्यांकअनुसार ४२ जना महिला र ५७ जना पुरुषमा डेंगु संक्रमण देखिएको हो । संक्रमितमध्ये सबैभन्दा धेरै देवचुली नगरपालिकामा २४ जना रहेका छन् ।

त्यस्तै जिल्ला सदरमुकामसमेत रहेको कावासोती नगरपालिकामा १९ जना, गैँडाकोटमा १८, हुप्सेकोट गाउँपालिकामा १३, मध्यविन्दु नगरपालिकामा १२, विनयी त्रिवेणीमा ११ र बुलिङटार गाउँपालिकामा दुई जनामा संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालयका ल्याव टेक्निसियन निरीक्षक डिल्लीराम तिवारीले जानकारी दिनुभयो । बौदिकाली गाउँपालिकामा भने अहिलेसम्म डेंगु संक्रमित फेला परेका छैनन् ।

सडकले छोएका पालिकामा बढी डेंगु देखिनुले सडक विस्तारको क्रममा ठेकेदार कम्पनीले समयमै काम नसक्नु र सडक खाल्डाखुल्डी पारेर छोडेकाले तीनै खाल्डाखुल्डीमा जमेको पानीका कारण डेंगु बढि देखिएको गैडाकोट नगरपालिकाका जनस्वास्थ्य निरीक्षक माधव आचार्यले बताउनुभयो ।

‘राजमार्गमा रहेका खाल्डाखुल्डीमा पानी जमेका कारण डेंगु बढी देखिएको छ, त्यसलाई नियन्त्रण गर्नका लागि विद्यालय र समुदाय स्तरमा सचेतना कार्यक्रम गरिरहेका छौं, आचार्यले भन्नुभयो ।

देवचुली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख, जनस्वास्थ अधिकृत रामकुमार श्रेष्ठले पनि राजमार्गमा पानी जमेका कारणले डेंगु बढेको बताउनुभयो । उहाँले डेंगु नियन्त्रणका लागि हरेक हप्ता पालिकाले एक सय १४ वटा टोरमै पुगेर लामखुट्टेको लार्भा नष्ट अभियान चलाउने बताउनुभयो ।

डेंगुको लक्ष्ण देखिने वित्तिकै सबैले परीक्षण नगराउने र कतिपयले चितवन र केही नीजि मेडिकलहरुमा परीक्षण गराउने गरेको र त्यो तथ्यांंक स्वास्थ्य कार्यालयमा समावेश नुहने गरेको जिल्ला स्वास्थ्य कार्यालयको भनाई छ । त्यो तथ्यांकसमेत जोड्दा संक्रमितको संख्या अझै बढ्न सक्ने कार्यालयले जनाएको छ ।

जिल्लामा डेंंगु संक्रमण बढ्दै गएपछि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी छविलाल सुवेदीले विभिन्न पालिकामा जनप्रतिनिधि, टोलसुधार समिति, शिक्षक, अभिभावक, विद्यार्थी, आमा समूह लगायतलाई राखेर अभिमुखिकरण कार्यक्रमहरु सुरु गरिएको र संक्रमण बद्दै गएका ठाउँहरुमा लामखुट्टेको लार्भा नष्ट अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालयले लामखुट्टेको वासस्थान नष्ट गर्न, पानी जम्न नदिन, सरसफाइमा ध्यान दिन र नियमित स्वास्थ्य परीक्षण गर्न सबैसित अनुरोध गरेको छ ।



सम्बन्धित
Loading...