संविधान दिवसमा नवलपुरमा सहिद तथा वेपत्ता परिवारलाई सम्मान




नवलपुर । गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहाले संविधानबाट प्राप्त राम्रा उपलब्धीहरूलाई आम जनतासामु पुर्याउन आवश्यक रहेको बताएका छन् ।

संविधान दिवसको अवसर पारेर बिहीबार कावासोतीमा भएको शुभकामना आदान प्रदान कार्यक्रम बोल्दै सासंद गाहाले राजनीतिमा महिला सहभागिता र अनिवार्य रुपमा दलित महिलाहरूको सहभागिता सुनिश्चितता, धर्म निरपेक्षता लगायतका धेरै राम्रा काम यही संविधान आएपछि भएको बताए ।




संविधानमा संशोधन गर्नु पर्ने कुरालाई संशोधन गर्नकै लागि अहिले दुई ठूला दल मिलेर सरकार बनाएको जिकिर गर्दै उनले अब जनतालाई आखाँमा छारो हाल्ने काम गर्न नहुने , संविधानमा भएको कमीकमजोरीलाई संशोधन गर्दै सबैको अपनत्व हुनेगरि संविधान बन्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै पूर्व गण्डकी प्रदेश सभा सदस्य विष्णु प्रसाद लामिछानेले संविधान आएकै कारण अहिले तीन तहको सरकार बनेको र सबैभन्दा नजिकको सरकार स्थानीय सरकारबाट धेरै विकास निर्माणका काम भएको बताए ।

संविधान सभा सदस्य जीवन श्रेष्ठले संविधानमा धेरै अधिकारका कुरा भएको तर केही कुराहरूमा संशोधन हुनुपर्ने धारणा राखे । उनले देशमा स्थाई सरकार निर्माण गर्न , संघीयता दरिलो बनाउन र समावेशिता बलियो बनाउनका लागि पनि केही कुरा संविधानमा संशोधन हुनुपर्ने देखिएको उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै पूर्व गण्डकी प्रदेश सभा सदस्य ओमकला गौतमले संविधान जारी गर्न सबै राजनैतिक दल लगायत देशका सबै नागरिकको उत्तिकै भूमिका रहेको बताए ।

कार्यक्रममा बोल्दै जिल्ला अदालतका न्यायाधीश कमल प्रसाद ज्ञवाली , नेकपा एमालेको तर्फबाट भिमलाल कंडेल नेपाली काङ्ग्रेसको तर्फबाट कपिलदेव भुसाल लगायत विभिन्न राजनैतिक दलका प्रतिनिधिले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा सहिद र बेपत्ता परिवारका सदस्यहरूलाई सम्मान पनि गरिएको थियो ।

कार्यक्रमका अध्यक्ष तथा जिसस प्रमुख बाबुराम विश्वकर्माले कार्यक्रमको समापन गर्दै संविधान सबैको भएका कारण सबै मिलेर यसलाई सफल र बलियो बनाउन पर्ने बताए । नेपाली जनताको त्याग र लामो संघर्सपछि पाएको उपलब्धी भएको हुँदा यसलाई जोगाइराख्न सबै एक भएर लाग्न जरुरी रहेको उनको भनाई थियो ।



सम्बन्धित
Loading...