रुख कटानको आदेश नआउँदा नमुना सदरमुकाममा भवन निर्माण कार्य रोकियो





रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुर जिल्लाको नमुना सदरमुकाम निर्माण स्थलमा भवन निर्माणका लागि निर्माण पक्ष ठेकेदार टोली निर्माण स्थलमा आइपुगेको छ ।  ठेकेदार पक्षले केही दिन अघिदेखि निर्माण सामग्री राख्ने भवन बनाउने र शुरुमा निर्माण गर्ने ३ वटा भवन बनाउने स्थलमा सरसफाईको काम गरिरहेको छ ।

भवन निर्माणको जिम्मा पाएको रौतहटको चौधरी कन्ट्रक्सनको टोली भवन निर्माण स्थलमा आइपुगे पनि नमुना सदरमुकाम स्थलमा रहेको रुख कटानको आदेश नआउँदा निर्माण कार्य अगाडि बढ्न नसकेको नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले बताए ।


कावासोती नगरपालिका –३ मा रहेको ज्योतिकुञ्ज सामुदायिक वनभित्र रहेको एकसय ८६ बिघा जग्गामा नमुना सदरमुकाम निर्माणका लागि काम थालिएको हो । पहिलो चरणमा जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, कोष तथा लेखा नियन्त्रण कार्यालय लगायतका गरी ५ वटा कार्यालय सर्ने गरी ३ वटा भवन निर्माणको ठेक्का लागेको छ ।

गत आर्थिक बर्षमा अर्थमन्त्रालयले विनियोजन गरेको ५० करोड मध्ये ३० करोडका हाराहारीमा भवन निर्माणको ठेक्का गएको हो । बर्षा सकिए लगतै अर्थात पानी रोकिए लगतै भवन निर्माणको कार्य अगाडि बढाइने भनिए पनि अहिले भवन निर्माण स्थलमा रहेका रुखहरु कटान नहुँदा काम अगाडि बढ्न नसकेको नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले बताए ।

रुख कटानका लागि यहाँ रहेको रुखहरुको लगत संकलन गरेर फाइल वन मन्त्रालयसम्म पुगे पनि मन्त्रालयमै काम राकिएको पोख्रेलले बताए ।

यस बर्ष नमुना सदरमुकामको थप भवन निर्माणका लागि संघीय सरकारमार्फत ८० करोड बजेट विनियोजन भएको छ । उक्त रकमको कुन कुन भवन बनाउने भनेर लागत स्टमेट तयार भएपछि ठेक्का प्रक्रिया अगाडि बढ्ने प्रमुख जिल्ला अधिकारी पोख्रेलले जानकारी दिए ।

त्यसैगरी नमुना सदरमुकाम स्थलमा भवन लगायतका संरचना निर्माणका प्राविधिक लगायतका विषय हेर्ने सघन सहरी तथा भवन निर्माण आयोजना भरतपुर कार्यालयले एक जना इन्जिनियर कावासोतीलाई कावासोतीमै राखेको छ ।

सघन सहरी तथा भवन निर्माण आयोजनाकाका इन्जिनियर कुन्दन तिवारीले आफू काम विहिन जस्तै भएको बताए । सबैतर्फबाट वन मन्त्रालयमा रुख कटान अनुमति नआउँदा काम राकिएको जनाइरहँदा रुख कटानसम्बन्धि काम हेर्ने डिभिजन वन कार्यालय नवलपुरका प्रमुख डिभिजन अधिकृत वसन्त केशव अधिकारीले भने फाइल वन विभाग हुँदै वन मन्त्रालय पुगेको र वन मन्त्रालयमा फाइल अध्ययनको काम भईरहेको बताए ।

नवलपुरका डिभिजनल वन अधिकत वसन्त केशव अधिकारीले वन मन्त्रालयले फाइल अड्काएका कारण कावासोतीको निर्माणाधिन नमुना सदरमुकाममा रुख कटानको काम अघि बढ्न स्वीकार गरे । तर उनले आफ्नो कार्यालयबाट फाइल विभाग हुँदै मन्त्रालय पुगेको बताउँदै त्यसका लागि सघन सहरी तथा भवन निर्माण आयोजना फाइल नपछ्याउँदा ढिलो भएको जानकारी दिए ।

अधिकारीले आफूहरुले गत असार २३ गते नै रुख कटान आदेश माग्दै फाइल वन विभागमा पठाए पनि अहिलेसम्म रुख कटान आदेश नआएको बताए । वन विभागले फाइल स्वीकृत गरेर वन मन्त्रालयमा पठाएको र मन्त्रालयले अध्ययन गरिरहेको जानकारी दिएको अधिकारीले बताए ।

नमूना सदरमुकाम निर्माण गर्ने भनिएको कावासोतीमा एक सय ८४ विगाहा क्षेत्रफल जग्गा सरकारको नाममा आइसकेको छ । जहाँ ५ सय ५२ वटा रुख र ९० वटा पोल कटान गर्नु पर्ने हुन्छ ।



सम्बन्धित
Loading...