कावासोतीमा होटल व्यवसायी संघलाई स्वस्थ्य खाना सम्बन्धी तालिम

नवलपुर । होटल व्यवशायी संघ, नवलपुरले जिल्ला भित्रका होटल तथा रेष्टुरेन्ट सञ्चालकहरुलाई तालिम दिएको छ ।
ग्राहकलाई स्वस्थकर खाना खुवाउन र सम्मानजनक व्यवहार गर्न सिकाउनका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तनहुँका खाद्य प्राविधिक ज्योति आचार्यलाई बोलाएर तालिम दिइएको संघका जिल्ला अध्यक्ष सन्तोष रानाले जानकारी दिए ।
केही सञ्चार माध्यमले मासुमा अखाद्य रङको प्रयोग गरिएको समाचार प्रकाशन गरेपछि होटल सञ्चालकहरुलाई स्वस्थकर खाना सम्बन्धि जानकारी दिन तालिम दिइएको संघको भनाइ छ ।
आजको तालिममा कावासोती नगरपालिका, बौदिकाली गाउँपालिका र बुलिङटार गाउँपालिकामा सञ्चालित होटल तथा रेष्टुरेन्टका सञ्चालकको सहभागिता रहेको थियो । अन्य पालिकाहरुमा पनि यसैगरी तालिम दिएर होटल सञ्चालकलाई सचेत गराउने अध्यक्ष रानाले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले यसअघि जारी भएको आचार सँहिता पूर्ण रुपमा पालना गर्न होटल तथा रेष्टुरेन्ट सञ्चालकलाई आग्रह गरे । उनीहरुले दिने सेवा, सुविधा र गुणस्तरका आधारमा पर्यटक र ग्राहकलाई आकर्षित गर्ने भएकाले आचार सँहितालाई पालना गर्न उनको आग्रह छ ।
केही होटल व्यवहायीहरुलाई खानामा रङको प्रयोग सम्बन्धि सामान्य ज्ञान पनि नभएको भन्दै प्रजिअ पोख्रेलले यस्ता तालिमले सबैलाई सचेत गाराउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।
विश्व पर्यटन दिवस २०२४ को अवसर पारेर आयोजना गरिएको तालिम जिल्ला भरि सञ्चालन गरिने आयोजकले जनाएको छ ।