नवलपुरका पहाडी क्षेत्रमा बाँदर आतंक, बौदीकालीले बनायो कार्यदल




नवलपुर । नवलपुर जिल्लाको बौदीकाली गाउँपालिकाको १ र २ नम्बर वडाका अधिकांश गाउँमा बांदरले आतंक मच्चाएपछि अहिले गाउँ पुरै सुनसान जस्तै छ । जंगलछेउका गाउँमा बाँदर आतंककै कारण खेती पाती गर्न नपाएपछि गाउँका मानिसहरु अन्त बसाई सरेका छन् भने जंगल छेउका गाउँ खालेपछि बाँदरहरु जंगलदेखि भित्रका गाउँमा पनि पस्न थालेका छन् ।

बौदीकाली २ डेढगाउँका स्थानीय बासिन्दा मनोज कोइरालाका अनुसार अहिले पहाडी क्षेत्रका माथिल्लो बस्तीहरु रितिदै गएपछि बाँदरहरु तल्लो बस्तीमा पनि पस्न थालेका छन् । गाउँमा १ जना घर छाड्नै नहुने गरी घर र बारी पालैपालो कुर्न बाध्य हुनु परेको मनोज कोइरालाले बताए ।

 

गाउँमा अलिअलि भएका बासिन्दा बाँदरले खेती गर्न नदिएपछि गाउँछाड्दा त्यसको असर जंगलभन्दा परपरको गाउँमा पनि पर्न थालेको छ । त्यसो त पहिला गाउँघरमा रहेका भरुवा बन्दुक, एक नाले बन्दुक पड्काउँन पाउँदा बाँदर भगाउन सजिलो भए पनि अहिले प्रहरी प्रशासनले त्यो पनि रोकेको कारण बाँदर थपाउनै नसकिएको बौदीकाली १ का टकबहादुर कार्की क्षेत्री बताए ।

 

बाँदर धपाउनकै लागि दौडधुप बढेपछि कतिपय खेती गर्न छाडेका छन् भने कतिपयले बाँदरले नखाने खेती छानी छानी गर्न बाध्य भएका छन् ।

गाउँमा बाँदर आतंक बढ्नुको मुख्य कारण बसाई सराई भए पनि बाँदर आतंककै कारण पनि बसाई सराई बढेको छ । बौदीकाली गाउँपालिका अध्यष प्रकाश ओझाले गाउँमा बाँदर आतंक बढेपछि यसलाई कसरी नियन्त्रण गर्ने भनेर कार्यदल नै गठन गरेको बताए ।

गाउँपालिका अध्यक्ष ओझाले गाउँमा बाँदर आतंक बढेसँगै चितुवा पनि आउन थालेर गाउँले थप त्रसित हुनु परेको बताए ।

त्यसो त पहाडी क्षेत्रका बस्तीमा बाटोघाटो स्वास्थ्य शिक्षा लगायतको सुविधा अभावका कारण पहाडका बासिन्दाहरु बसाई सरेर तराई झर्ने वा नजिकको बजारमा बसाई सर्ने गरेका छन् त्यसमाथि बाँदर आतंकले गाउँमै बस्न नसक्ने भएपछि भोलिका दिनमा पहाडका ग्रामिण क्षेत्रमा बचेखुचेका बस्ती रित्तिदै जाने देखिन्छ ।



सम्बन्धित
Loading...