हुप्सेकोटमा पालिका हुलाक कार्यालय स्थापना





प्रिय धन –
हुप्सेकोट (नवलपुर) । नवलपुरको हुप्सेकोट गाउँपालिकामा पालिका हुलाक कार्यालयको स्थापना गरिएको छ ।

जिल्ला हुलाक कार्यालयका प्रमुख, निमित्त हुलाक अधिकृत केश बहादुर खण्डलु मगर सहितको टोली, हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी देवी पाण्डे लगायतको उपस्थितिमा स्थापना भएको हो । हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेले हुप्सेकोट पालिका हुलाक कार्यालय स्थापना गरेका हुन् ।


कार्यक्रममा अध्यक्ष पाण्डेले पालिका हुलाकको स्थापनाले अब विभिन्न संघ संस्था नवीकरण, व्यक्तिगत तथा संस्थागत पत्र आदानप्रदानमा सहजता आउने विश्वास व्यक्त गरे ।

नयाँ स्थापना भएको हुलाक कार्यालय हुप्सेकोट गाउँपालिकामा एक खरिदार सहित हल्कारा ३ गरी चारजनाको दरबन्दी रहने जिल्ला हुलाक कार्यालय नवलपुरका निमित्त हुलाक अधिकृत केश बहादुर खण्डलु मगरले जानकारी दिए ।

साविकमा अतिरिक्त हुलाक भएकोमा अब पालिका हुलाक भएपछि कार्यालय विहान १० बजेदेखि साँझ ५ बजेसम्म खुल्ने समेत अधिकृत खण्डलु मगरले जानकारी दिए ।

हुप्सेकोट गाउँपालिकाको पुरानो भवनको न्यायिक समिति रहेको स्थानमा पालिका हुलाक कार्यालय राखिएको छ । हाललाई कार्यालयका लागि २ कोठाको व्यवस्था गरिएको छ ।

जिल्ला हुलाक कार्यालय भने कावासोती नगरपालिका वडा नम्बर ८ मा रहेको छ । आइबार भएको पालिका हुलाक कार्यालय स्थापना कार्यक्रम जिल्ला हुलाक कार्यालयका खरिदार यावल कुमार खाम्चा मगरले संचालन गरेका थिए ।



सम्बन्धित
Loading...