मध्यविन्दुका २५ बढी मासु तथा खाद्य पसलमा अनुगमन


 




नवलपुर । शुक्रबार नवलपुर मध्यविन्दुको २५ भन्दा बढी मासु पसल, खाद्यान्न पसल, होटल लगायतका पसलहरूमा अनुगमन गरिएको छ ।

मध्यविन्दु नगरपालिकाद्वारा शुक्रबार चोरमारा, पतवारी, लुसलरी, मदनपुर , टाँडी लगायतको क्षेत्रमा छड्के बजार अनुगमन गरिएको छ ।


दैनिक उपभोग्य खाद्यान्न सामग्रीहरुमा गुणस्तरीयता भए, नभएको विषयमा सरोकारवाला निकायसहित स्थलगत अनुगमन गरिएको हो ।

अनुगमन गरिएका पसलहरुमध्ये पसल दर्ता तथा नवीकरण नभएको, पसलमा मूल्यसुची नटाँसेको वा अपडेट नगरेको, म्याद सकिएको खाद्यान्न पसलमा बिक्रीका लागि राखिएको, कानुनी प्रक्रिया पुरा नगरेको जस्ता कमीकमजोरीहरु भेटिएका थिए ।

खाद्यान्न पसलहरुको गुणस्तरीयता सुधार्न अनुगमन गरिएको हुँदा कमीकमजोरी सुधारेर पसल सञ्चालन गर्न निर्देशन दिइएको नगरपालिकाले जनाएको छ ।

पहिला भन्दा पसलहरुको अवस्था सुधार भएको मध्यविन्दु नगरपालिका बजार अनुगमन संयोजक बिष्णु प्रसाद शर्माले बताए ।

अरूणखोला क्षेत्रका व्यवसायीहरू सचेत रहेको पाईएको शर्माले बताए । विहीबार अरुणखोला क्षेत्रमा पनि अनुगमन गरिएको थियो ।



सम्बन्धित
Loading...