क्रान्तिकारी पत्रकार महासंघले लगाएको ताला फोडिएको विषयमा पत्रकारहरुबीच विवाद (भिडियो सहित )
शोभा जिसी
नवलपरासी, २ असार ।
नेपाल पत्रकार महासंघ नवलपुरका व्यापक अनियमितता भएको भन्दै नवलपरासीका पत्रकारहरु आन्दोलित भएका छन् ।
नवलपरासीमा रहेका क्रान्तिकारी पत्रकार महासंघ, प्रेस चौतारी, प्रेस सेन्टर, डब्लुडब्लुजे, फोनिज नवलपुर, वातावरण पत्रकार मञ्च लगायतले संयुक्त रुपमा सोमबार नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष होमराज रानाभाटलाई ज्ञापन पत्र बुझाएर आन्दोलनको शुरुवात गरेका हुन् ।
भिडियो हेर्नुहोस
https://www.youtube.com/watch?v=s__WQEo5xhE
संयुक्त ज्ञापन पत्र बुझाउने कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघ नवलपुरका अध्यक्ष लोकनाथ पंगेनी, प्रेस सेन्टर नवलपुरका अध्यक्ष अर्जुन अविरल, प्रेस चौतारी नवलपुरका सचिव सागर पोख्रेल, डब्लुडब्लुजे नवलपरासीका उपाध्यक्ष ज्ञानु पंगेनी लगायतले बोलेका थिए ।
विवाद किन भयो ?
ज्ञापन पत्र बुझेपछि केही समय भनाभनको स्थित समेत सिर्जना भएको थियो । क्रान्तिकारी पत्रकार महासंघ नवलपुरले आइतबार लगाइदिएको ताला प्रहरी लगाएर फोडिएको विषयमा निक्कै बेर विवाद भएको थियो ।
नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष होमराज रानाभाटले आफूलाई ताला लगाएको विषय र फोडिएको विषय दुवै थाहा नभएको भन्दै विवादस्पद अभिव्यक्ति दिएपछि भनाभन भएको हो ।
अध्यक्ष रानाभाटको गैरजिम्मेवारी पूर्ण अभिव्यक्ति आएको र महासंघमा लगाएको ताला पत्रकार महासंघको आग्रह विना प्रहरी तथा प्रशासनले फोडेको भए महासंघले यस विषयमा विरोध जनाउनु पर्ने माग उठेको थियो ।
अध्यक्षले अन्नतः कार्यसमितिको वैठक बसेर यस विषयमा निणर्य दिने सक्ने बताए पछि विवाद रोकिएको थियो ।
कसले फोड्यो ताला ?
पत्रकार महासंघ नवलपुरका पदाधिकारी कसैले पनि ताला फोड्न प्रशासन गुहारेको स्वीकार गरेका छैनन् । प्रहरीले पत्रकार आग्रहमा ताला फोडिएको भन्छ तर पत्रकारले भने प्रमुख जिल्ला अधिकारी विष्णु कार्की आफैले चासो दिएर ताला फोडेको र ताला फोड्ने बेला रोहबरको रुपमा जिल्ला उपाध्यक्ष श्रीराम सिग्देललाई राखिएको बताएका छन् ।
पत्रकारहरुको आपसी विवादका विषयलाई लिएर लगाएको ताला प्रहरी प्रशासनले आफूखुसी हस्तक्षेप गरेर फोडिएको भन्दै अन्य संगठनहरुले त्यसको व्यापक आलोचना गरेका छन् ।
क्रान्तिकारी पत्रकार महासंघ नवलपुरका अध्यक्ष लोकनाथ पंगेनीले यस विषयमा प्रमुख जिल्ला अधिकारीसँग भेटेरै बुझ्ने बताए ।
