नेपाल प्रिमियर लिग : एनपिएलमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई कार पुरस्कार



पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीले कार पाउने भएका छन् । ‘एनपिएलको फाइनलको दिन प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीले कार पाउनेछन्,’ नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले मंगलबार भने । शारडा ग्रुप र क्यानबिच सम्झौतासँगै एनपिएलमा उत्कृष्ट घरेलु खेलाडीले कार दिइने भएको हो ।


एनपिएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड लजिक र क्यानको संयुक्त पहलमा दुई पक्षबिच सम्झौता भएको हो । ब्रान्ड डिजिटल लजिक प्रालिका सिइओ रोशन निरौला र शारडा ग्रुपअन्तर्गतको एसपिजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले हस्ताक्षर गरेका छन् । ‘नेपाली क्रिकेटको इतिहासमै यो पहिलोपटक हो । एनपिएल खेलेपछि कम्तीमा खेलाडीले गाडी चढ्नुपर्छ भन्ने लक्ष्यका साथ यो कदम चालेका हौंँ,’ खड्काले भने, ‘हामी शारडा ग्रुपलाई धेरै धन्यवाद दिन चाहन्छौँ ।’

यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) वार्षिक रूपमा उत्कृष्ट खेलाडीलाई कार दिने गरेको थियो । राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान उपेन्द्रमान सिंह र हरि खड्काले कार पाएका थिए । साफ खेलकुदमा दुई स्वर्ण तथा पहिलोपटक छनोट चरण पार गरी ओलम्पिक खेलेकी तेक्वान्दोकी संगिना वैद्यले पनि कार पाएकी थिइन् ।




अब क्रिकेटमा उत्कृष्ट नेपाली खेलाडीले कार पाउनेछन् । क्यानका सचिव खड्काले उत्कृष्ट खेलाडीले कस्तो कार पाउने भन्ने अहिले जानकारी नभएको बताए । ‘अहिले नै खेलाडीले कस्तो मोडेलको कार पाउने भन्ने यकिन छैन, यसका लागि क्यान र शारडा ग्रुपले छिट्टै जानकारी दिनेछन्,’ उनले भने ।

एसपिजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले यस सहकार्यले नेपालमा क्रिकेटको प्रवद्र्धन र विकासका लागि टेवा पुग्ने बताए । ‘हामीहरूबिचको सहकार्यले क्रिकेटको लागि लोकप्रियता तथा सफलता पाउँदै गरेको परिदृश्यमा खेल विकासका लक्ष्य हासिल गर्न सहयोग पुग्नेछ,’ गौरवले भने । उत्कृष्ट खेलाडीले एसपिजी अटोमोबाइल्सको ‘आमोडा एन्ड जेईको’ कम्पनीको कार पाउनेछन् ।

धरहरा परिसरमा आकर्षक ट्रफी अनावरण भएको थियो । एनपिएल ट्रफीको मुख्य आकर्षण नै सगरमाथाको आधार शिविर कालापत्थरको ढुंगा रहेको छ । जनकपुर बोल्ट्समा आसिफ सेख, काठमाडौं गोर्खाजका करण केसी, पोखरा एभेन्जर्सका कुशल भुर्तेल, चितवन राइनोजका कुशल मल्ल, लुम्बिनी लायन्सका रोहित पौडेल, विराटनगर किंग्सका सन्दीप लामिछाने, कर्णाली याक्सका सोमपाल कामी र सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरी मार्की खेलाडी रहेका छन् ।

 

 



सम्बन्धित
Loading...