फरार अभियुक्त प्रहरीकै इन्स्पेक्टर भएको खुलेपछि…
महिनौँदेखि प्रहरीको फरार सूचीमा रहेका एक अभियुक्त प्रहरीकै इन्स्पेक्टर भएको खुलेको छ । आपराधिक विश्वासघातसम्बन्धी कसुरमा फरार रहेका धर्मेन्द्र अकौलिया कानुन कार्यान्वयन गर्ने जिम्मेवारीमै थिए । जिल्ला अदालत काठमाडौंबाट गत साउनमै पक्राउ पुर्जी जारी प्रहरी वृत्त स्वयम्भूमा उनी प्रहरी निरीक्षकका रूपमा कार्यरत थिए ।
हाल उनी कार्यरत रहेको स्वयम्भू वृत्तले गत ३ साउनमा उनीविरुद्ध आपराधिक विश्वासघात मुद्दा चलाएको थियो । कानुनी रूपमा फरार रहेका उनी आफैँ अन्य फरारको खोजी गर्ने र शान्ति सुरक्षा गर्ने जिम्मेवारीमा थिए । वास्तविकता खुलेपछि उनी निलम्बनमा परेका छन् ।
गत साता जिल्ला प्रहरी परिसर, काठमाडौंले फरार अभियुक्तहरूको खोजी गर्ने फरार व्यक्तिको नाममा आफ्नै इन्स्पेक्टरसम्म मिल्दो नाम देख्यो । त्यति मात्र होइन, ठेगानासमेत मिलेपछि थप बुझ्दा फरार रहेका व्यक्ति प्रहरी इन्स्पेक्टरकै रूपमा कार्यरत रहेको पुष्टि भएको थियो । त्यसपछि प्रहरी वृत्त स्वयम्भूका डिएसपी उद्धवसिंह भाटले अकौलियालाई अदालतमा बुझाएका हुन् ।
गत ५ मंसिरमा इन्स्पेक्टर अकौलियालाई जिल्ला अदालत, काठमाडौंका न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलासले एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । फौजदारी मुद्दा लागेपछि प्रहरी कर्मचारी स्वतः निलम्बनमा पर्ने व्यवस्था छ । इन्स्पेक्टर अकौलिया सीतापाइलास्थित मारुती बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति सदस्य थिए ।
सो सहकारीका अध्यक्ष वसन्त भेटवाल हुन् । अध्यक्ष भेटवालविरुद्ध ०८० भदौमा नृपेश श्रेष्ठले प्रहरीमा जाहेरी दर्ता गरेका थिए । सहकारीले कारोबारमा विश्वासघात गरेको भन्दै जाहेरी दिएकोमा गत साउनमा स्वयम्भू वृत्तले अनुसन्धान पूरा गरी सरकारी वकिलमार्फत काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । प्रहरीले अध्यक्ष भेटवालसहित सहकारीका सातैजनालाई सञ्चालकलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । जसमा प्रतिवादी बनेका अकौलिया आफ्नै इन्स्पेक्टर भन्ने थाहा थिएन । त्यतिवेला उनी काभ्रेमा कार्यरत थिए ।
गत २७ भदौमा सरुवा भएर उनी आफूविरुद्ध अनुसन्धान गरेको स्वयम्भू वृत्तमै पुगे । तैपनि आफूविरुद्धको मुद्दा उनले गोप्य नै राखे । मुद्दा चलेको संगठनले थाहा पाए निलम्बनमा पर्न सक्ने भएकाले उनले गोप्य राखेका थिए । हाल वास्तविकता खुलेपछि उनी निलम्बनमा परेका छन् । प्रहरी स्रोतका अनुसार सहकारीका अध्यक्ष भेटवाल उनका निकटस्थ व्यक्ति हुन् ।