विद्यालयलाई ३ कठ्ठा दान दिने मध्यविन्दुका भट्टराई परिवारलाई सम्मान
रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका ६ हर्दियामा रहेको जनता माध्यमिक विद्यालयलाई ३ कठ्ठा जग्गा दान गर्ने मध्यविन्दु ६ हर्दियाका भट्टराई परिवारलाई आज विद्यालयले सम्मान गरेको छ ।
विद्यालय परिषरमा आज अभिभावक भेला तथा सम्मान कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो ।
जग्गादाता भट्टराई परिवार पदमपाणी भट्टराई, ईश्वरा भट्टराई, पार्वती भट्टराई, कुस्माखर भट्टराई, शर्मिला भट्टराई, मित्रलाल भट्टराई, इन्द्रनारायण भट्टराई, भगवती भट्टराई, रामप्रसाद भट्टराई र गीता भट्टराईलाई सम्मान गरिएको हो ।
उनीहरुलाई मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले दोसल्ला र तामापत्रले सम्मान गरेका थिए ।
कार्यक्रममा बोल्दै मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले विद्यालयलाई जग्गा दान गर्नु कार्य महान भएको बताए । त्यसैगरी अधिकारीले व्यक्तिको नाममा गएको विद्यालयको जग्गा इमान्दारपूर्वक फिर्ता गर्न पनि आग्रह गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र कुमालको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा जग्गादाता पदमपाणी भट्टराई, मध्यविन्दु ६ का वडाध्यक्ष लाभप्रसाद पाठक, शिक्षक अभिभावक संघका अध्यक्ष धर्मराज लुइटेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले व्यक्तिको नाममा गएको जग्गा इमान्दार पूर्वक विद्यालयलाई फिर्ता गर्न आग्रह गरेका थिए ।
जनता मावि मध्यविन्दु ६ हर्दियाको केही जग्गा २०४२ सालमा व्यक्तिको नाममा लालपूर्जा आएको छ । जसलाई विद्यालयले कानुनी रुपमा फिर्ता गर्ने प्रक्रिया थालेको छ ।