जाजरकोटमा बोलेरो जिप दुर्घटना, पाँच जनाको मृत्यु



जाजरकोट – जाजरकोट जिल्लाको नलगाड नगरपालिका–३ स्थित बिरखोला नजिकै गए राति बोलेरो जिप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । भने दुई जना घाइते भएका छन्।

कालीमाटीबाट करुवा जाँदै गरेको ग.३ च.९८४५ नम्बरको बोलेरो जिप दुर्घटना भएको हाे । ब्रेक फेल भएर करिब ७००–८०० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी जाजरकोटका सुचना अधिकारी हरि डागीले बताए ।



दुर्घटनामा ३१ वर्षीय चालक ईन्द्रजित थापा, ६४ वर्षीय शिला पुन, ३२ वर्षीय सारदा थापा, १७ वर्षीय लक्ष्मी पुन रोका, र उनका १ महिनाका छोरा आलोचन रोकाको घटनास्थलमै मृत्यु भएको हो। १९ वर्षीय जनक थापाको टाउको र अनुहारमा चोट लागेका छन्।, जसको नगर अस्पताल, दल्ली जाजरकोटमा उपचार भइरहेको छ। २१ वर्षीय जिवन बिक भने सामान्य उपचारपछि घर फर्किसकेकाे सूचना अधिकारी डाँगीले बताए ।

जिल्ला प्रहरी कार्यालय, जाजरकोटका प्रहरी निरीक्षक दिनेश तिमिल्सेनाले बोलेरो जिपको ब्रेक फेल भएकाले दुर्घटना भएको प्रारम्भिक निष्कर्ष निकालेको बताए ।

उनले भने, “दुर्गम स्थानमा भएको दुर्घटनाले उद्धारमा कठिनाइ भएको थियो। स्थानीय प्रहरी र जिल्ला प्रहरीको टोलीले उद्धार गरी घाइतेलाई तत्काल अस्पताल पुर्‍यायौं।

सडक र सवारी साधनहरूको कमजोर अवस्था दुर्घटनाको मुख्य कारण भएको नलगाड नगरपालिका–६ का वडा अध्यक्ष वीरन्द्र खड्काले बताए ।


सम्बन्धित
Loading...