नवलपुरमा टिप्पर दुर्घटना हुँदा १ जनाको मृत्यु ३ जना घाइते

रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ३ हर्वले चोकमा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज दिउँसो साढे ४ बजेतिर चालकले अनियन्त्रण गुमाई दुर्घटना भएको थियो ।
पाल्पाबाट चुनढुङगा लोड गरी नवलपुरको बिनयी त्रिवेणी गा.पा.१ होङसी कम्पनी तर्फ आउदै गरेको ना १ क ९१२९ न.को ट्रिपर चालकले नियन्त्रण गुमाई पल्टन गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले बताए ।
दुर्घटनामा परी टिप्परले च्यापिएर टिप्पर चालकको घटना स्थलमै मृत्यु भएको छ । उनको साथबाट प्रहरीले मकवानपुर जिल्लाको वागमती गाउँपालिका ६ फापरवासी निवासी ३२ बर्षीय नरबहादुर वाईबाको नाममा रहेको सवारी चालक अनुमति पत्र फेला पारेकोले आफन्तलाई खबर गरेका जनाएको छ ।
त्यसैगरी दुर्घटना परी नवलपुरको बिनयी त्रिवेणी गाउँपालिका ३ निवासी २४ बर्षीय सुनिल सार्की, २३ बर्षीय दिपक सुनार र पर्सा जिल्लाको बिरगंज उपमहानगरपालिका २७ निवासी ३० बर्षीय ताज महमद हावारी घाइते भएका छन् ।
घाईतेहरुलाई उपचारको लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा तर्फ ल्याउँदै गरेको प्रहरीले जनाएको छ । प्रहरी घटना स्थलबाट फर्कि नसकेकोले दुर्घटनाको कारण र घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी उपरीक्षक यादव ढकालले बताए ।