७ वर्षको पोथी गैँडा मृत अवस्थामा फेला पर्यो

नवलपुर । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा ७ वर्षको पोथी गैँडा मृत फेला परेको छ ।
कावासोतीको कृष्णसार र गुन्द्रही ढकाहा वनको सिमानामा शनिबार दिउँसो गैँडा मृत फेला परेको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए ।
थापाका अनुसार मृत गैँडामा पुरानो घाउ देखिएको छ । अर्को गैँडासँग जुधेर घाईते भएर बिरामी परेर गैँडा मरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको उनले बताए । मृत गैँडाको खाग र खुर सुरक्षित रहेको निकुञ्जले जनाएको छ ।
त्यसैगरी बँदेल मारेको अभियोगमा नवलपुरको कावासोतीबाट ७ जना पक्राउ परेका छ्न ।
नवलपुरको कावासोती ११ को कुढौली मध्यवर्ती सामुदायिक वन र कावासोती–१२ को राजरत्न मध्यवर्ती सामुदायिक वनको सिमानामा बँदेलको मासु सहित ७ जनालाई पक्राउ गरिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरले जानकारी दिए ।
पक्राउ परेकाहरुबाट प्लास्टिकको झोलामा पोको पारेको अवस्थामा बंदेलको मासु समेत बरामद भएको उनले बताए । विषेश सूचनाको आधारमा पक्राउ परेकाहरु कावासोती ११ र १२ का रहेका र उनिहरुलाई हिरासतमा राखेर थप अनुसन्धान भैरहेको निकुञ्जले जनाएको छ ।