नवलपरासीमा झडप हुँदा १ जनाको मृृत्यु, २० जना घाइते 




रामकुमार श्रेष्ठ –

नवलपरासी – विवाहको विषयलाई लिएर पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३ बेलासपुरमा भएको झडपमा परी एक जनाको मृत्यु भएको छ ।




स्थानीय दुई समूहबीच झडप भएको हो । झडपमा परी २१ जना घाइते भएका थिए । घाइतेहरु मध्ये गम्भीर घाइते पाल्हीनन्दन–३ का ३५ वर्षीय विजय धवलको उपचारको क्रममा भैरहवा सिटी अस्पतालमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी निरीक्षक नारायण थापाले बताए ।

मंगलबार बिहान पौने १० बजेदेखि सुरू भएको स्थानीयबीचको झडप भएको थियो । झडप नियन्त्रणमा लिन प्रहरीलाई २ घण्टा लागेको थियो ।

अवस्था नियन्त्रणमा लिनका लागि प्रहरीले ५ राउन्ड अश्रु ग्याँस र ३ राउन्ड हवाइ फायर गर्नु परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिए ।

उनका अनुसार ५ जना सर्वसाधारण, १२ जना प्रहरी र ४ जना सशस्त्र प्रहरी गरी २१ जना घाइते भएका थिए । २१ घाइते मध्ये १ जनाको निधन भएको पाल्हीनन्दन ३ का ४५ वर्षीय बैजनाथ लोहनी र मोहरम सवरियाको भैरहवा सिटी अस्पतालमा उपचार भईरहेको र अन्यको पृथ्वीचन्द अस्पताल परासीमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

झडपमा प्रहरीको गाडी, कवाड राखेको पसल पनि जलेका छन् । प्रहरीको गाडीमा आगो लगाउने ५ जनालाई पक्राउ गरेर आवश्यक कारवाहीको लागि मुद्दा अगाडि बढाइएको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

सोमबार साँझ पनि झडप भएको र मंगलबार विहान पुनः सोही विषयलाई लिएर पुनः झडप भए पनि यकिन कारण भने नखुलेको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

अहिले झडप नियन्त्रणमा आए पनि नेपाल प्रहरीका १५० जना र सशस्त्र प्रहरी एक सय जना परिचालन भएको उनले बताए ।

प्रेम विवाहको विषयलाई लिएर झडप भएको स्थानीयले बताए पनि प्रहरीले भने झडपको कारण नखुलेको र घटनाको अनुसन्धान भईरहेको जनाएको छ ।

प्रहरीको बा १ झ ७४४८ नम्बरको गाडी स्थानीयले आगो लगाइदिएको पनि थापाले बताए ।

दुई फरक समुदायका केटाकेटीको प्रेम विवाह सम्बन्धी विवाद बढ्दै जाँदा झडपको स्थिति आएको बताईएको छ ।

आक्रोसित केटा पक्षको समूहले सोही ठाउँमा रहेको मोहरमको कवाड गोदाम र प्रहरीको गाडी जलाएका छन् ।

स्थानीयले बलेको टायर फालेर प्रहरीको गाडी जलाउन थालेपछि प्रहरीले हवाई फायर गरेको थियो । आगजनीबाट ईलाका प्रहरी कार्यालय महेशपुरको गाडी बा १ झ ७४४८ नम्बरको गाडी जलेर क्षती भएको प्रहरी निरीक्षक थापाले बताए ।

आगजनीमा संलग्न रहेको आरोपमा पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको कारण बारे आधिकारिक धारणा सार्वजनिक गरेको छैन घटना घट्नुको कारण स्पष्ट नरहेको भन्दै बताउँदै आएको छ ।



सम्बन्धित
Loading...