नवलपुरका थप ४ क्याम्पसमा स्ववियु चुनाव माग

नवलपुर । नवलपुरका विद्यार्थी संगठनहरुले आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन यहाँका थप ४ वटा कलेजमा निर्वाचन गर्न माग गरेको छ ।
नवलपुरमा रहेका ४ विद्यार्थी संगठनले मंगलबार कावासोतीमा संयुक्त रुपमा पत्रकार सम्मेलन गरी यस्तो माग गरेको हो ।
जिल्लामा क्रियाशिल नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी र नेकपा एकीकृत समाजवादी निकटको विद्यार्थी संगठन अनेरास्ववियुले जिल्लामा थप चार वटा क्याम्पसमा स्ववियु चुनावको माग गरेका छन् ।
यसअघि जिल्लाका ६ वटा क्याम्पसमा मात्र चुनाव भएको थियो । यो पटक थप चार वटा क्याम्पसमा संयुक्त रुपमा स्ववियु चुनाव माग गर्ने चार विद्यार्थी संगठनबीच निर्णय भएको अखिल क्रान्तिकारीका अध्यक्ष आयुष ढकालले जानकारी दिए ।
उनका अनुसार यो पटक जनक कलेज गैँडाकोट, जनज्योती कलेज प्रगती नगर, नवजागरण बहुमुख क्याम्पस, चोरमारा र जनमुखि आदर्श बहुमुखी क्याम्पस गैँडाकोटमा चुनाव हुनु पर्ने विद्यार्थी संगठनको माग छ । यस अघि पनि यि ४ क्याम्पसहरुमा विद्यार्थी संगठनले स्ववियु निर्वाचनको माग गरे पनि निर्वाचन भने हुन सकेको थिएन ।
चुनावको माग गरिएका सबै क्याम्पसमा दुईसय भन्दा बढी विद्यार्थी रहेको संगठनहरुले जनाएका छन् ।
यसैबीच आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा नवलपुरका विद्यार्थी संगठनबीच तालमेल नहुने भएको छ ।
मंगलबार सदरमुकाम कावासोती–३ मा रहेको मध्यविन्दु बुहुमुखी क्याम्पसमा प्रमुख चार विद्यार्थी संगठनले संयुक्त पत्रकार सम्मेलन गरी तालमेल नगरी एकल प्रतिश्पर्धा गर्ने घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा अनेरास्ववियुका जिल्ला अध्यक्ष सौगात भुसालले विद्यार्थीको हक हितका विषयमा सबै विद्यार्थी संगठन एक ठाउँमा रहेपनि चुनावमा भने तालमेल नगरी एकल प्रतिश्पर्धा गर्ने बताए ।
त्यस्तै नेपाल विद्यार्थी संगठनका जिल्ला अध्यक्ष हरि सुवेदीले आफूहरुको पहिलो प्राथमिकता निर्धारित समयमै चुनाव हुनु रहेको भन्दै गठबन्धन गर्ने विषयमा भने कुनै छलफल नै नभएको बताए ।