कावासोतीमा सहिद परिवारलाई सम्मान




रामकुमार श्रेष्ठ –

नवलपुर । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सहिद सप्ताह अन्तर्गत २५ जना सहिद परिवारलाई सम्मान गरेको छ । पार्टीले नवलपुरको कावासोतीमा कार्यक्रम गरी सहिद परिवारलाई सम्मान गरेको हो ।



नवलपुर जिल्लामा माओवादी जनयुद्धकालमा १ सय ३ जना राज्य पक्ष र विद्रोही पक्षबाट मारिएको तथ्यांकमा उल्लेख छ ।

सम्मान कार्यक्रममा नेकपाका जिल्ला ईन्चार्ज पदक केसी जुझारुले १२ जनालाई प्रतिवन्ध कालमा केपी ओली नेतृत्वको सरकारले मारेको आरोप लगाए ।

सरकारले विप्लव नेतृत्वको नेकपालाई २०७५ देखि २०७७ सम्म प्रतिवन्ध लगाएको थियो । २०७८ मा ओली नेतृत्वको सकारसँग तीन बुँदे सहमतिपछि प्रतिवन्ध फुकुवा भएको थियो । प्रतिवन्ध कालमा १२ जना सहिद भएको नेकपाले जनाएको छ ।

जिल्ला ईन्चार्ज केसीले जनयुद्धमा होमिन बन्दुक बोक्न हौसाउने हाल नेकपा एमालेका उपाध्यक्ष राम बहादुर थापा बादलले जनयुद्धलाई हिंसा भनेको प्रति गम्भीर आपत्ति जनाए । उनले ०५२ सालमा जनयुद्ध सुरु गर्दाका गृहमन्त्री खुम बहादुर खड्का र प्रतिवन्ध लगाउँदाका गृहमन्त्री बादलबीच कुनै भिन्नता नरहेको तर्क गरे ।

त्यस्तै केसीले आफूहरु नेकपा माओवादीसँग एकताका लागि एक वर्ष अघिनै एकता प्रस्ताव पास गरेको भएपनि माओवादीका कारण ढिलाई भएको बताए । नेकपा माओवादी लगायत बिचार मिल्ने शक्तिहरु एक ठाउँमा हुनु पर्ने पक्षमा रहेको केसीको भनाइ छ ।

त्यसैगरी कार्यक्रममा नेकपाका जिल्ला सेक्रेटरी सुमन ज्ञवालीले सहिदहरुको सपना पुरा गर्ने सबै माओवादी शक्ति एक ठाउँमा उभिनु पर्नेमा जोड दिए ।

कार्यक्रममा सहिद परिवारहरुले तत्कालिन माओवादी पार्टी नेतृत्वहरुबीच एकता भएर जानु पर्नेमा जोड दिएका थिए ।


सम्बन्धित
Loading...