अपाङ्गता भएका व्यक्तिहरुलाई उद्यम गर्न आर्थिक समस्या भएको गुनासो
रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरका अपाङ्गता भएका व्यक्तिहरुले आफूहरुले उद्यम गर्न चाहाना हुँदा पनि आर्थिक समस्याका कारण उद्यम गर्न कठिनाई हुने गरेको गुनासो गरेका छन् ।
उनीहरुले अपाङ्गता भएका व्यक्तिहरुले उद्यम ब्यवसाय गर्न चाहेमा सम्बन्धित गाउँपालिका वा नगरपालिकाले अनुदान उपलब्ध गराउनु पर्ने माग राखेका थिए ।
आज शनिबार ‘उपयुक्त ह्वीलचियर पहुँच युक्त नेपाल, स्वतन्त्र गतिशीलता हाम्रो अधिकार’ भन्ने नारा सहत १७ औं अन्तर्राष्ट्रिय ह्वीलचियर दिवसको अवसरमा पारेर नवलपुरको मध्यविन्दुमा छलफल तथा अन्तरक्रिया कार्यक्रममा उनीहरुले माग गरेका हुन् ।
त्यसैगरी कार्यक्रममा सहभागी अपाङ्गता भएका ब्यक्तिहरुले नगरपालिलाले नापजाँच नगरी बितरण गरिने ह्वील चियर आफुहरुको अनुकुल नभएको गुनासो गरेका थिए ।
त्यसैगरी फिजियो थेरापी सेवा संचालन गराउनु पर्ने अपाङ्गता बालबालिका अध्ययन गर्ने स्रोत कक्षा संचालन गर्नु पर्ने लगायतका माग राखेका थिए ।
सामाजिक बिकास कार्यालय नवलपुरको आयोजना तथा अपाङ्गता पुनस्थापना समन्वय परिषद नवलपुरको समन्वयमा भएको कार्यक्रमको मध्यविन्दु नगरपालिकाका नगर उपप्रमुख पूर्णकला चौधरीले उद्घाटन गरेका थिए ।
अपाङ्गता पुनस्थापना समन्वय परिषद नवलपुरका अध्यक्ष सागर लुइँटेलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै मध्यबिन्दु नगरपालिका उपप्रमुख पुर्णकला चौधरीले नगरपालिकाले योजनाहरु छनौट गर्दा अपाङ्गता भएका व्यक्तिहरुलाई प्रथामिकतामा राखेर योजना छनौट गर्ने बताए । उनले नगरपालिका भित्र बन्ने संरचनाहरु अपाङ्गतामैत्री बनाउने प्रतिबद्धता पनि जनाए ।
कार्यक्रममा मध्यविन्दु नगरपालिकाका वडा अध्यक्षहरु, सामुदायिक वनका अध्यक्षहरु लगायत सामाजिक संघसंस्थाका प्रतिनिधि सहित करिब ६० जना अपाङ्गता भएका व्यक्तिहरुको सहभागीता थियो ।
कार्यक्रममा फिजियो थेरापी संचालन दिवा सेवा तथा स्रोत कक्षा संचालन लगायत विभिन्न बिषयमा छलफल गरिएको थियो । भेलाबाट ९ सदस्य एकृकीत योजना तर्जुमा समिती गठन गरिएको छ ।
त्यसैगरी कार्यक्रममा रेसम फिरिरीका दिपक पंगेनीले अपाङ्गता सम्बन्धित परियोजना ल्याउन सहयोग गर्ने प्रतिबद्धता जनाए ।