केरुङ्गे खोलामा अवैध उत्खनन बढ्यो




नवलपुर । नवलपुरको कावासोतीमा रहेको केरुङ्गे खोलामा अवैध रुपमा नदीजन्य वस्तुको उत्खनन कार्य बढेको छ ।

कावासोती १४ र ९ को बीचभागदेखि कावासोती १ को माथिल्लो भागसम्म केरुङ्गे खोलामा अवैध उत्खनन बढेको हो ।




यहाँ अहिले दैनिक २० देखि ४० वटा ट्याक्टरहरुले एकाविहानैदेखि मध्यरातसम्म नियमित रुपमा नदीजन्य वस्तु गिटी, बालुवा तथा ढुंगाहरु चोरी गर्ने गरेका छन् ।

कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलले आफूहरुले प्रहरी प्रशासनसँग गुहार मागेको र नगर प्रहरी समेत परिचालन गरे पनि चोरी निकासी नियन्त्रण गर्न कठिनाई भएको बताए ।

यता जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले भने रातको समयमा चोरी निकासी भए पनि दिनको समयमा भने चोरी निकासी नभएको दावी गर्दै आएका छन् ।

प्रहरी उपरीक्षक ढकालले वडादेखि पालिकाहरुले बाटो निर्माण लगायतका काममा नदीजन्य वस्तुको निकासी दिंदा आफूहरुलाई थाहै नदिई दिने गरेका कारण चोरी भए नभएका थाहा पाउनै मुस्किल हुने गरेको बताए ।

यसैबीच कावासोती नगरपालिकाले केरुङ्गे खोलामा नदीजन्य वस्तु निकासीको लागि ठेक्का लगाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलका अनुसार अहिले प्रति घनफुट ९ रुपैयाँका दरले ठेक्का लगाएको हो ।

(20+) Facebook



सम्बन्धित
Loading...