स्ववियु निर्वाचन: पश्चिम नवलपरासीका ३ वटै क्याम्पसमा मनोनयन दर्ता
नवलपरासी । पश्चिम नवलपरासीमा स्ववियु निर्वाचनका लागि आज स्ववियु निर्वाचन हुने ३ वटै क्याम्पसमा मनोनयन दर्ता भएको छ ।
दिव्यज्योति बहुमुखी क्याम्पस बर्दघाट, पाल्ही बहुमुखी क्याम्पस रामग्राम र त्रिभुवन क्याम्पस बेलाटारी प्रतापपुरमा मनोनयन दर्ता भएको छ ।
दिव्य ज्योति बहुमुखी क्याम्पसमा विभिन्न दल निकट विद्यार्थी संगठनका ३ जना र एक स्वतन्त्र गरी चार जनाको सभापतिमा उम्मेद्धवारी परेको छ । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु र अन्य विभिन्न संगठनसंगको संयुक्त प्यानलबाट सभापति पदमा अनेरास्ववियूका सन्दिप देवकोटाले उम्मेद्धवारी दिएका छन् भने काग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट शसि बिकले उम्मेद्धवारी दर्ता गराएका छन् ।
त्यसैगरी नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी सहित माओवादी सम्वद्ध दलहरु निकट विद्यार्थी संगठनबाट अखिल क्रान्तिकारीका शिसिर पाण्डेले सभापतीमा मनोनयन दर्ता गराएका छन् । त्यसैगरी सोही क्याम्पसमा विश्वनाथ भण्डारीले स्वतन्त्र रुपमा सभापतिमा उम्मेद्धवारी दर्ता गरेको क्याम्पसका प्राचार्य एवं निर्वाचन प्रमुख दीपक खड्काले जानकारी दिए । दिव्यज्योतीमा १ हजार ३ सय ८७ विद्यार्थी मतदाता छन् ।
यता परासीको पाल्ही बहुमुखी क्याम्पसमा पनि सभापतीमा चार जनाको उम्मेद्धवारी परेको छ । यहाँ नेविसंघका निरज प्रसाद धवल, सिके रावत नेतृत्वको जनमत पार्टी सम्वद्ध विद्यार्थी संगठन, विद्यार्थी जनमत संघबाट रामजनम बाँनियाँ, अखिल क्रान्तीकारीको सर्मथनमा जसपा नेपाल सम्वद्ध विद्यार्थी संगठनबाट समाजवादी विद्यार्थी युनियनका अजय हरिजन, एमाले निकट अनेरास्ववियूका दुग्रेस गुप्ताले सभापतीमा उम्मेद्धवारी दर्ता गराएको क्याम्पस प्रमुख दिपक अर्यालले जानकारी दिए ।
त्यसैगरी त्रिभुवन क्याम्पस बेलाटारीमा पनि चार जनाको सभापतीमा उम्मेद्धवारी परेको छ । बेलाटारीमा अनेरास्ववियुबाट आशिस कुमार गुप्ता तेली, नेविसंघबाट आदित्य गडेरी पाल, हृदयस त्रिपाठी निकट विद्यार्थी समुह र अखिल क्रान्तिकारीको संयुक्त प्यानलबाट राजा गोसाई र विद्यार्थी जनमत संघबाट रामकृपाल गुप्ताले सभापतीमा मनोनयन दर्ता गराएको क्याम्पसका निर्वाचन संयोजक रामप्रसाद भट्टराईले जानकारी दिए । बेलाटारीमा ४ सय ८ जना मतदाता छन् ।
एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले जिल्लाका तिनवटा क्याम्पसमा एकिकृत समाजवादी निकट विद्यार्थी संगठन र नेपाल कम्युनिष्ट पार्टी बहुमत निकट विद्यार्थी संगठन संग प्यानल बनाएर निर्वाचनमा होमिएको अनेरास्ववियुका जिल्ला अध्यक्ष संजय मौर्यले जानकारी दिए ।
त्यसैगरी काग्रेस निकट नेविसंघले ३ वटै क्याम्पसमा एकल उम्मेदवारी दिएको सभापती कमल बस्यालले जानकारी दिए । यसैगरी माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तीकारी सहित मोहन वैद्य निकट विद्यार्थी संगठन, नेकपा मसाल निकट अखिल छैठाँैले चुनावी गठनबन्धन गरेको अखिल क्रान्तिकारीका अध्यक्ष रमेश पाण्डेले जानकारी दिए ।
यहाँ आगामी चैत्र ५ गते स्ववियु निर्वाचन हुँदै छ । यसअघि २०७९ चैत्र ५ गते भएको स्ववियु निर्वाचनमा त्रिभुवन क्याम्पस र दिव्य ज्योति बहुमुखी क्याम्पसमा अनेरास्वियुको प्यानल विजय भएको थियो भने पाल्ही क्याम्पसमा जनमतको प्यानल विजय भएको थियो ।