नवलपुरमा होली मर्यादित ढंगले मनाउन आग्रह




नवलपुर । जिल्ला प्रहरी कार्यालय नवलपुरले एक सूचना प्रकाशन गरी होली पर्व सभ्य र मर्यादित ढंगले मनाउन आग्रह गरेको छ । नवलपुर प्रहरीद्वारा जारी सूचनामा होली पर्व हर्ष उल्लासका साथ सभ्य र मर्यादित तवरले मनाउन, आत्मीय रुपमा नजिक भएका व्यक्ति वा आफन्तसँग मात्रै होली मनाउन अनुरोध गरिएको छ ।

त्यसैगरी होलीको नाममा अवान्छित गतिविधि एवम् अमर्यादित व्यवहार नगर्न, असभ्य र अश्चिल किसिमका होलीका बाजा नबजाउन, ठूलो स्वरमा डिजे तथा अन्य ध्वनी प्रदुषर्ण नगर्न पनि प्रहरीले आग्रह गरेको छ ।



त्यसैगरी तिब्रगतिमा सवारी साधन नचलाउन, मादकपदार्थ तथा लागूपदार्थ सेवन गरी सवारी साधन नचलाउन, महंगा गरगहना लगाएर होली नखेल्ने पनि आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले बताए ।

होलीमा कसैको इच्छा विपरित रङ्ग लगाइदिने, लोला हान्ने गरेको पाइए प्रहरीलाई खबर गर्न प्रहरीले आग्रह गर्दै त्यस्तोलाई कानुनी कारवाही गरिने समेत जनाएको छ ।

नवलपुरको नवलपुरको पहाडी क्षेत्र सहित देशभरका पहाडी भुगोलमा आज धुमधामका साथ होली पर्व मनाइएको छ । नवलपुरको हुप्सेकोट, बौदीकाली, बुलिङटार गाउँपालिका सहित, काठमाडौं, पोखरा, चितवन, तनहू लगायतका पहाडी जिल्लाहरुमा आज रंगहरुको पर्व होली पर्व मनाइएको हो ।

त्यसैगरी भोलि नवलपुरको गैडाकोट, कावासोती, देवचुली, मध्यविन्दु, विनयी त्रिवेणी लगायत तराईका जिल्लाहरु पश्चिम नवलपरासी, रुपन्देही, दाङ, बारा पर्सा लगायतका जिल्लाहरुमा होली पर्व मनाइदै छ ।

होली पर्वको आफ्नै धार्मिक मूल्य मान्यता रहेको छ । असत्यमाथि सत्यको जितको प्रतिकको रुपमा होली पर्व मनाइन शुरु गरेको धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको पाइन्छ भने नेपाल र भारत लगायतका देशहरुमा होली पर्व आपसी सद्भाव र भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले मनाइने गरिन्छ ।

 


सम्बन्धित
Loading...