हसौराको छुटपुट जग्गा दर्ता गरिदिन मालपोतलाई जनप्रतिनिधिको आग्रह
रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरको कावासोती ४ हसौराको विवाद रहित नाम जाँच गरी लालपूर्जा वितरण कार्यलाई अगाडि बढाउनु वडा कार्यालय र नगरपालिकाले मालपोत कार्यालय कावासोतीलाई आग्रह गरेको छ ।
कावासोती ४ का वडाध्यक्ष नारायण लोहनीले आज मालपोत कार्यालय कावासोतीका कार्यालय प्रमुख हरि सुवेदीलाई वडा र नगरपालिकाको तर्फबाट पत्र बुझाउँदै यस्तो आग्रह गरेका हुन् ।
विवाद नरहेको, छुट जग्गा जोत कमोद र बसोबासको आधारमा जग्गा धनिका नाममा दर्ता गर्न आग्रह गरिएको वडाध्यक्ष लोहनीले बताए ।
नेपाल सरकारको २०८० माघ ११ गते राजपत्रमा प्रकाशित छुट जग्गा दर्ता सम्बन्धि सूचना अनुसार शाबिक शिबमन्दिर गा.बि. स. नक्सा न. ९/क ९/ख ९/ग हाल कावासोती नगरपालिका वडा न. ४ को विवाद रहित छुट जग्गा जोत कमोद बसोबास गर्ने वास्तविक जग्गा धनिको नाममा दर्ता गरिदिनको आग्रह गरिएको र मालपोत कार्यालय प्रमुख हरि सुवेदीले छिट्टै प्रकृया अगाडि बढाउने प्रतिबध्ता जनाएको उनले बताए ।
कावासोती ४ मा यस्तो प्रकृतिको करिब ३ सय घरधुरीका ६० विगाहा क्षेत्रफल जग्गा रहेको छ ।
उनका अनुसार सरकारले २ बर्षको हदम्याद राखेर दर्ता गर्न सूचना निकालेको र त्यो सूचना प्रकाशित भएको १३ महिना भईसकेकोले तत्काल कार्य अगाडि बढाउनु पर्ने बताए ।