नवलपुरका विद्यार्थी संगठनहरुले आन्दोलन फिर्ता, क्याम्पसमा लागेको ताला खुल्यो
नवलपुर । नवलपुरका ४ राजनैतिक दलहरुको दबाब पछि नवलपुरका विद्यार्थी संगठनहरुले आन्दोलन फिर्ता लिएका छन् ।
नेकपा एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा एसले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै विद्यार्थीहरुलाई आन्दोलन फिर्ता लिन र नेपाल पब्लिक क्याम्पस संघ नवलपुरलाई स्ववियू निर्वाचन गर्न दबाव दिएको थियो ।
उक्त विज्ञप्ति पछि आइतबार उक्त ४ पार्टीका ४ विद्यार्थी संगठनहरुले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै आन्दोलन फिर्ता गरेका हुन् ।
नेपाल विद्यार्थी संघ नवलपुर सभापति हरि सुवेदी, अनेरास्ववियू नवलपुर अध्यक्ष सौगात भुसाल, अखिल क्रान्तिकारी नवलपुर अध्यक्ष आयुष ढकाल र अनेरास्ववियू नवलपुर अध्यक्ष विशाल थापाले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै आन्दोलन फिर्ता लिएको जनाएको छ ।
विद्यार्थीहरुले आन्दोलन फिर्ता लिएपछि क्याम्पसमा लागेको ताला खुलेको छ भने नेविसंघले गरेको रिले अनसन पनि तोडिएको छ ।
उनीहरुले विज्ञप्ति जारी पछि बसेको ४ विद्यार्थी संगठनले स्ववियू निर्वाचन गराउन माग नेपाल पब्लिक क्याम्पस संघसँग वार्तामा बस्ने निर्णय समेत गरेको नेविसंघ नवलपुरका सभापति हरि सुवेदीले बताए । पब्लिक क्याम्पस संघसँग सोमबार छलफल हुने पनि उनले बताए । वैठकले स्ववियू निर्वाचन तालिका हेरफेर गरेर निर्वाचन गराउन माग गर्ने समेत निर्णय गरेको छ ।