एसईई परीक्षाः देशभरबाट ५ लाख बढी परीक्षार्थी सहभागी हुँदैै, नवलपुरबाट ६४८२ जनाले परीक्षा दिदै




नवलपुर ।
भोलि अर्थात चैत्र ७ गतेदेखि शुरु हुने यस बर्षको एसईई परीक्षामा देशभरबाट ५ लाख १४ हजार ७१ जना परीक्षार्थीहरु परीक्षामा सहभागी हुने भएका छन् ।

यस वर्षको एसइई परीक्षाका लागि देशभर दुई हजार ७९ परीक्षा केन्द्र निर्धारण गरेको छ ।



यसपटकको एसइईमा बाल सुधार केन्द्र र कारागार गरी तीनवटा विद्यालयबाहिरका केन्द्र निर्धारण गरेको छ । परीक्षा नियन्त्रक पौडेलले काठमाडौं र दैलेखका दुई कारागार तथा भक्तपुरको बाल सुधारगृहबाट विद्यार्थीलाई परीक्षा दिने व्यवस्था गरिएको जानकारी दिए ।

यस वर्षको एसइईमा कीर्तिपुरस्थित सफलता एचआइभी शिक्षा सदनबाट पनि विद्यार्थी सहभागी हुने भएका छन् भने यहाँबाट चारजना एचआइभी संक्रमित विद्यार्थीले एसइई परीक्षा दिने भएका छन् ।

यस वर्षको एसइई चैत ७ गतेदेखि सुरु भएर १९ गते सम्पन्न हुने भएको छ । परीक्षा बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन हुनेछ । परीक्षा तालिकाअनुसार पहिलो दिन चैत ७ गते अनिवार्य अंग्रेजी विषय, सोही दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरबी भाषाको परीक्षा हुनेछ ।

चैत ८ गते अनिवार्य नेपाली विषय, गैरनेपाली विद्यार्थीहरूका लागि अंग्रेजी (इलेक्टिभ अंग्रेजी)को परीक्षा हुनेछ ।

यता नवलपुरबाट यस वर्ष ६ हजार ४ सय ८२ जना परीक्षार्थीहरु एसईई परीक्षामा सहभागी हुने भएका छन् । नियमित तर्फ ५ हजार ८ सय २६ र ग्रेड बृद्धिका ६ सय ५६ गरि कुल ६ हजार ४ सय ८२ बिद्यार्थी एसईई परीक्षामा सहभागी हुने भएका हुन् ।

जसमा छात्रातर्फ ३ हजार २ सय ४७ र छात्र तर्फ ३ हजार २ सय ३५ जना परीक्षार्थीहरु रहेका छन् ।

जिल्लामा ८६ सामुदायिक, ४९ संस्थागत, ५ गुरूकुल, प्राबिधिकधार तर्फ ८ र खुल्ला तर्फ १ बिद्यार्थीले एसईई दिनेछन् ।

एसईई परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन ३ महिला सहित २८ प्रधानाध्यापकलाई केन्द्राध्यक्ष तोकिएको छ ।

त्यसैगरी ४३ सहायक केन्द्राध्यक्ष, ३ सय २४ निरीक्षक, परीक्षा सहायक ६४ कार्यालय सहयोगी १ सय २९ र सुरक्षाकर्मी ४ सय २० जना गरि कुल १ हजार ८ जनशक्ति एसईईका लागि परिचालित हुने भएकाछन् ।

केन्द्राध्यक्ष सहितका एसईईमा खटिने कर्मचारीहरुलाई आज नियुक्ति दिइएको शिक्षा बिकास तथा समन्वय इकाई नवलपुर प्रमुख दीपेन्द्र राज श्रेष्ठले बताए ।

परीक्षाका लागि सम्बन्धित परीक्षा केन्द्र र नजिकैको प्रहरी कार्यालयमा उत्तर पुस्तिका र प्रश्न पत्र पुगिसकेको छ ।

श्रेष्ठका अनुसार बिद्यार्थीहरूलाई पायक पर्ने हिसाबले नवलपुर २८ परीक्षा केन्द्र बनाईएको छ ।

गैडाकोटमा ४ देवचुलीमा ५ कावासोतीमा ७ मध्यबिन्दुमा ५ बिनयी त्रिवेणीमा २ हुप्सेकोटमा ३ बौदिकालीमा १ र बुलिङ्गटार गाउँ पालिकामा १ परीक्षा केन्द्र निर्धारण गरिएको श्रेष्ठले जानकारी दिनुभयो ।

परीक्षा केन्द्र रहेका बिद्यालयहरूमा डेढगाउँ मावि डेडगाउँ, त्रिभुवन मावि बुलिङ्गटार, गैडाकोटमा कालिका सेकेन्डरी स्कुल, जनक मावि, नेपाल राष्ट्रिय शमशेर आदर्श मावि गैडाकोट र लक्ष्मी सेकेन्डरी स्कुल अमरापुरी रहेको छ ।

यस्तै देवचुलीमा वरचुली सेकेन्डरी स्कुल फारम, देवचुली मावि रजहर, नेपाल मावि केउरेनी, जनज्योति मावि र जनज्योति नमुना मावि प्रगतिनगरलाई परीक्षा केन्द्र बनाईएको छ ।

कावासोतीमा शिव मावि कावासोती, सहिदस्मृति मावि शिववस्ती, ज्ञानोदय मावि कावासोती, जीवनज्योति मावि कावासोती ३, जनता मावि सहिद नगर, जनता मावि त्रिभुवनटार डण्डा र सरस्वती मावि गोछडा रहेकाछन् ।

हुप्सेकोटमा जनता मावि बेलुवा, सरस्वती संस्कृत तथा साधारण मावि गिरूवारी, हुप्सेकोट मावि मौलाथर, मध्यविन्दुमा नवलपुर सेकेन्डरी स्कुल, नवजागर मावि चोरमारा, जनता मावि मंगलचौर तथा जनता सेकेन्डरी स्कुल अरूणखोलालाई परीक्षा केन्द्र बनाईएको छ ।

त्यस्तै विनयी त्रिवेणीमा नारायणी गण्डकी सेकेन्डरी स्कूल त्रिवेणीधाम र भानुदय मावि दुम्किबासलाई एसईई परीक्षा केन्द्र तोकिएको छ ।

बिद्यार्थी संख्याका हिसाबमा यस पटकको एसईई परीक्षामा भीमसेन आदर्श माविले जिल्लामै सर्वाधिक २ सय २८ र श्रीमद् रामानुज बेदबिद्याश्रम गैडाकोटले ३ बिद्यार्थी सहभागी गराएको छ ।

परीक्षा केन्द्रहरूमा सबै भन्दा धेरै परीक्षार्थी संख्या भानुदय मावि दुम्किबास रहेको छ, जसमा ४ सय ३३ बिद्यार्थी रहेकाछन् । त्यसै गरि हुप्सेकोट मावि मौलाथर केन्द्रमा ४७ परीक्षार्थी रहेको शिक्षा बिकास तथा समन्वय इकाई कार्यालय नवलपुरले जनाएको छ ।

यसैबीच यस बर्षको परीक्षा सुरु भएको ७ चैतको मितिले ९० दिन पुग्ने गरी ७ असारमा नतिजा प्रकाशन हुने भएको छ । यसअघि नतिजा प्रकाशनबारे र्बोडले मिति नतोक्दा विद्यार्थी अन्योलमा हुने गर्दथे ।

त्यसैगरी भोलिदेखि शुरु हुने एसईई परीक्षाको सुरक्षा व्यवस्था मदबुद पारिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले बताए । उनले भयरहित वातावरणमा परीक्षा दिन पनि परीक्षार्थीहरुलाई आग्रह गरेका छन् ।

 


सम्बन्धित
Loading...